२ चैत्र २०७९, बिहीबार
कालीकोट— कालीकोटको एक वडाले उमेर पुगेर विवाह गर्ने महिलालाई पुरस्कार स्वरुप जनही १० हजार दिने भएको छ ।वडामा बालविवाहका घटना बढ्न थालेको भन्दै कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई रू १० हजार दिने निर्णय गरिएको वडाध्यक्ष प्रमेबहादुर शाहीले बताए ।वडाका कसैले विवाह गरेमा वडा कार्यालयको सिफारीस अनिवार्य लिनु पर्ने निर्णय पनि गरिएको वडाध्यक्ष शाहीले बताए । बालविवाहलाई रोक्न वडाले यस्तो निर्णय गरिएको उनले बताए ।
वडाका कुनै पनि महिला र पुरुषले अन्य कुनै वडा वा जिल्लाबाट विवाह गर्नुपरेमा उमेर खुलेको प्रमाण पत्र सहित वडाबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनेको वडाध्यक्ष शाहीले जानकारी दिए ।कसैले सिफारिस नलिई विवाह गरेमा वडाबाट प्रदान गरिने सबै सेवा सुविधा बन्द गर्ने निर्णय भएको पनि वडाध्यक्ष शाहीले बताए ।