
बाँके माघ १४ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ ले विकास निर्माणका कामलाई तीब्र बनाएको छ । दोस्रो कार्यकालका रुपमा निर्वाचित भएका बर्माले अर्को पक्की नयाँ सडक निर्माणका लागि शिलान्यास गरेका छन् ।
झण्डै डेढ करोड बजेटमा निर्माण हुने पक्की सडकको निर्माण कार्य शनिबार वडाध्यक्ष दिपक कुमार बर्माले शिलान्यास गरे । सुर्खेतरोड भाटभटेनीदेखि पश्चिम तर्फ उपेन्द्र श्रेष्ठको घर हुँदै भुजईं गाउँ जाने ५ सय ५० मिटर लामो सडक ८७ लाख ९७ हजार रूपैयाँमा टेण्डर सम्झौता भएपछि राप्ती गणेश कन्स्ट्रक्सनले निर्माण सुरु गरेको हो ।
२०८२ जेठ १५ गते निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीले काम सुरु गरेको पक्की नयाँ सडकमा दायाँबायाँ एकमिटरको नाला र ६ मिटरको चौडाबाटो सहित ८ मिटरको नयाँ बाटो बन्ने वडाध्यक्ष बर्माले जानकारी दिए । वडाध्यक्ष बर्माका अनुसार, टेण्डर रकममा बोल कबोल गर्दा घटेर बचेको बाँकी रकम थप सडक बिस्तारमा लगानी गरिने वडाको योजना छ । कुल १ करोड ४३ लाख बजेट विनियोजन भएको थियो ।
‘यो आर्थिक बर्षमा हाम्रो वडाको सबैभन्दा ठूलो बजेटको सडक हो’, समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिंदै वडाध्यक्ष बर्माले भने, ‘पूर्व योजना अनुसारका भौतिक पूर्वाधार निर्माणका कामहरू पनि क्रमशः अगाडि बढाइरहेका छौं ।’ नेपालगन्ज–१८ विकास निर्माणमा गरिरहेको उल्लेखनीय कामको कदर गर्दै शिलान्यास कार्यक्रममा वडाध्यक्ष बर्मालाई सम्मान समेत गरिएको स्थानीयबासीले जानकारी दिनुभयो ।