अरुणकुमार नेपाली
२१ जेठ २०८० आइतबार
आफ्नो पूर्वघोषित आन्दोलनको कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले आइतबारदेखि धर्ना कार्यक्रम सुरु गर्दै छन् ।
विद्यालय कर्मचारीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिनका लागि उनीहरुले देशैभरका शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिने भएका हुन् । सरकारले आगामी आर्थिक बर्ष २०८०÷०८१ लागी ल्याएको बजेटमा माग सम्बोधन नभएपछि कर्मचारीहरु आक्रोशित बनेका छन् ।
बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कर्मचारीहरुले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकामा धर्ना दिने नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रिय अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । धर्ना कार्यक्रम आजदेखि जेठ २६ गतेसम्म चल्नेछ ।
परिषदले घोषणा गरेको संघर्षका कार्यक्रम अनुरुप जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाण्डौमा रिले असन बस्ने र त्यसपश्चात माग सम्बोधन नभए असार २ गतेबाट विद्यालय बन्द गर्ने स्थितिमा कर्मचारीहरु पुगेका छन ।
नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको माग सम्बोन गरिए पनि बजेटमा उपेक्षा गर्दा विद्यालय कर्मचारी सरकार प्रति रुष्ट भएका छन् ।परिषदले बजेट सच्चाउन समेत माग गरेको छ ।विगतमा विद्यालय कर्मचारीहरुसंग भएको सम्झौता बमोजिम आफ्ना सेवा सुविधा समेटि बजेट कार्यान्वयनमा लैजान परिषदले सरकारसंग माग गरेको छ ।
यसै बिच बजेटमा विद्यालय कर्मचारीलाई उपेक्षा गरिएकोमा विभिन्न शिक्षक संगठनहरुले समेत आपत्ति जनाउदै विद्यालय कर्मचारीले थालेको आन्दोलनमा पूर्ण समर्थन जनाएका छन् ।