२३ मंसिर २०८१,आइतबार
दाङ।दाङका केही सामुदायिक विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सुरु गरिएको छ।विद्यालय स्तरमा विद्यार्थीहरुलाई सानै उमेरदेखि आयुर्वेद औषधी र योग शिक्षाको महत्वको बारेमा जानकारी दिन कार्यक्रम सञ्चालन गरिएको हो।
‘मेरो स्वास्थ्य,मेरो जिम्मेवारी’भन्ने मूल नाराका साथ प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङले कार्यक्रमको सञ्चालन गरेको हो।कार्यक्रमको आइतबारदेखि तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ को जनज्योति माध्यमिक विद्यालयबाट सुरु गरिएको छ।विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आयुर्वेद औषधीको महत्व,योग शिक्षाको आवश्यकता तथा महत्वबारे जानकारी गराउँदै कार्यक्रम सञ्चालन गरिएको हो।यो कार्यक्रम दाङका ९ वटा सामुदायिक विद्यालयमा सञ्चालन हुनेछ।
पछिल्लो समय खानपिन,आनीबानी,रहनसहन जस्ता कारणले मानवीय जीवनशैलीमा पारेको प्रत्यक्ष असरलाई न्यूनिकरण गर्न विद्यालय स्तरबाटै शिक्षा प्रवाह गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको वरिष्ठ कविराज डाक्टर आस्मा के.सी.ले बताइन।सो अवसरमा वरिष्ठ वैद्य नवराज डाँगी र कविराज निरीक्षक डाक्टर आस्मा केसीले आयुर्वेदको परिचय,जडीबुटीको औषधीय प्रयोग र मात्रा,स्वास्थ्य आहारविहार,खानपान,जीवनशैली र योगको महत्वका विषयमा विद्यालयका विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो ।कार्यक्रम पश्चात विद्यार्थी र शिक्षकहरुलाई योगाभ्यास समेत गराईएको थियो।