फागनु २१,२०७९ आइतबार
काठमाडौं —नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफुसंग भएको बताएका छन् ।
आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध दर्ता गरिएको मुद्धाको प्रसंग उठाउदै चन्दले यस्तो चेतावनी दिएका हुन् ।
उनले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिए। उनले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार नरहेको जिकिर गरे।
उनले माओवादीलाई अपराधी बनाए इतिहास दोहोर्याउने चेतावनी दिए।महासचिव चन्दले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष प्रचण्डका बिरुद्धमा मुद्धा दर्ता हुँदा समेत उक्त पार्टी चुप लागेर बस्नु दुःखद भएको बताए । उनले मुद्दा दर्ता भइसक्दासमेत प्रधानमन्त्री दाहालको पार्टीले कुनै आवाज नउठाएकाले उनको पार्टी कता गयो? भन्दै प्रश्न गरे।