४ चैत २०७९,शनिबार
काठमाण्डौ –कोशी प्रदेश नामकरणको विरोधमा दैनिक प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, मोरङले विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।प्रशासनले सूचना निकालेर भोलि (आइतबार) बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले एक सूचना जारी गर्दै सुरक्षा स्थितीलाई मध्यनजर गरी निषेधाज्ञा लागू गरिएको हो। गएको फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो ।कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन् ।सूचनामा चैत ५ गते बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको क्षेत्रमा सर्वसाधारण तथा गाडी आवत जावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली जस्ता कार्यहरू गर्न निषेध गरिएको उल्लेख छ ।

उनीहरुले प्रदेश १ को नाम किराँत हुनुपर्ने माग गर्दै दिनहुँ दैनिक प्रदर्शन गर्दै आइरहेका छन्। दिनहुँ प्रदर्शन भइरहँदा शान्ति सुरक्षामा असर पर्ने भएकाले निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले सूचनामा उल्लेख गरेका छन्।आदेशको उलंघन गरी विरोधका कार्यक्रम सञ्चालन गरेको पाइएमा कानून बमोजिम कारवाही गरिने समेत सूचनामा उल्लेख छ ।