२६ पुष २०८०, बिहीबार
काठमाडौँ : नेपाली काँग्रेसकी नेत्री एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न माग गरेकी छन्।
बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै राणाले सानै उमेरमा हुने विवाह रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताइन्। उनले विवाह गर्नका लागि पहिला लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताइन्। उनले विवाह गर्नका लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्य आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने बताइन्।
उनले यसका लागि वडा तहदेखि कानूनी रूपमा नीति बनाउन आवश्यक रहेको बताइन्। विवाहअघि सबै प्रक्रिया पुर्याएर लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताइन्। उनले अन्तरराष्ट्रिय धेरै देशमा विवाहअघि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि बताइन्। उनले बालविवाह, महिला हिंसा, बलात्कार जस्ता विकृति रोक्न कानून नै एकमात्र विकल्प हुनसक्ने दावी गरिन्।
राणाले भनिन्, ‘विवाहका लागि लाइसेन्स लिन राम्रो हुन्छ। यो चलन किन शुरु नगर्ने? २०३० सम्म जुन च्यालेन्स मिट गर्ने हो। विवाह दर्ता गर्ने लाइसेन्स लिनुपर्यो। त्यो वेला नागरिकता हुनैपर्यो। यो भयो भने मायामा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिन्छ। यो एउटा एकदमै राम्रो उपाय हुनसक्छ। धेरै देशमा विवाह लाइसेन्स लिनैपर्छ। पहाडी जिल्लामा स्कुल तहमा विवाह गरेकाहरू छन्। उनीहरूलाई कसले अभिमुखीकरण गर्ने।’
उनले नेपालका पहाडी जिल्लामा विद्यालय अध्ययन गर्दा विवाह गर्ने गरेको बताइन्। उनले कम उमेरमा विवाह गर्नेहरूलाई आवश्यक अभिमुखीकरण दिनुपर्ने बताइन्।