५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रणालीमा बाँधिनुलाई पिंजडा ठान्नु अशुभको संकेत भएका बताएका छन् ।
बिहीबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले मानव समाजमा सामाजिक, धर्म, इमान जमानको बन्धन हुने बताए । तर कांग्रेसले सरकारको समर्थन गर्ने तर सरकारमा हिस्सेदारको विरोध गर्ने गरेको बताए ।
उनले भने, ‘बेलगाम चल्ने, थिति, विधिमा नबाँधिने र प्रणालीका प्रबन्धभित्र बाँधिनुलाई पिंजडा ठान्नु नै अशुभको संकेत हो ।’
संसद बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ओलीमाथि प्रधानमन्त्रीलाई पिंजडामा राखेको आरोप लगाएका थिए । आफू प्रधानमन्त्री भएको बेला संविधानले चिन्दैन भनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गरेर ओलीले प्रधानमन्त्रीलाई पिंजाडामा राख्न खोजेको उनको दाबी थियो ।
एमाले अध्यक्ष ओलीले भने संयन्त्र बनाउने अभ्यास कांग्रेसले नै थालेको बताए । हिजो आफूले संयन्त्र चाहिँदैन भनेको स्वीकार गर्दै उनले भने, ‘गत सरकारको समयमा नेपाली कांग्रेसले रामचन्द्र पौडेलजीको नेतृत्वमा संयन्त्र बनाएर एउटा नयाँ प्रचलन सुरु गर्यो । त्यो त अभ्यासका रुपमा आइसक्यो त !’