
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध कारबाहीको माग गर्दै सात वटा निकायमा जाहेरी तथा उजुरी परेको छ । फर्जीको विवरणको आधारमा रुविना श्रेष्ठलाई छोरी बनाएर नागरिकता दिलाएको भन्दै उनीविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिइएको हो ।
मेयर सिंहविरुद्ध कारबाहीको माग गर्दै प्रधानमन्त्रीको कार्यालयदेखि लिएर गृह मन्त्रालयसम्म तथा पर्सा जिल्ला प्रशासन कार्यालय, पर्सा प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सीआइबी तथा राष्ट्रिय सतर्कता केन्द्रसम्म उजुरी परेको हो ।
अरुको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको भन्दै पर्साका स्थानीय तथा कांग्रेस समर्थकहरुले पहिलोपटक पुस २४ मा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरियो । दर्ता नम्बर– १३२५ रहेको यो उजुरी नै मेयर सिंहविरुद्धको पहिलो उजुरी हो
योसँगै मेयर सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा दर्जनभन्दा बढी उजुरी परेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ । त्यसपछि यही विषयमा छानबिनको माग गर्दै पर्सा प्रहरीमा अर्को जाहेरी पर्यो । मेयर सिंहसहित रुविना श्रेष्ठमाथि कारबाहीको माग गर्दै कांग्रेस पर्सा–२ का क्षेत्रीय सभापति महम्मद सहाबुदिनले पर्सा प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।
पर्सा प्रहरी प्रमुख कोमल शाहले मेयर सिंहसहित २ जनाविरुद्ध फौजदारी अपराध अन्तर्गत जाहेरी परेको जनाउँदै त्यसमाथि छानबिन भइरहेको बताए । उनले भने, ‘नागरिकता प्रकरणमा केही विषयमा छानबिन भइरहेको छ, त्यो सकिएपछि दर्ता गरेर बाँकी प्रक्रिया अगाडि बढाइन्छ ।
यसैगरी नागरिकता प्रकरणबारे यही साताभित्रै सत्यतथ्य छानबिनको माग गर्दै गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयमा समेत उजुरी दिइएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पर्साका नेताहरुले भेटघाट गर्दै सत्यतथ्य छानबिनको माग गर्दै उजुरी दिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
गृहमन्त्री श्रेष्ठले उजुरी बुझ्दै मेयर सिंहले दिलाएको नागरिकताबारे छानबिन गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएको बताइएको छ । पर्साका नेताहरुसँगको भेटमा गृहमन्त्री श्रेष्ठले दोषी देखिए कारबाही हुने प्रतिबद्धता जनाएको भेटमा सहभागी स्रोतले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले समेत मन्त्रालयमा उजुरी परेको र त्यसमाथि सत्यतथ्य बुझ्ने काम भइरहेको जनाएका छन् ।