
सङ्खुवासभा- सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार की ६२ बर्षीया वृद्धा दिलकुमारी घिमिरे हत्यामा संम्लग्न एक जना पक्राउ परेका छन् ।
वृद्धाको हत्या आरोपमा सुनसरीको धरानका दिपेन भन्ने आकास राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठ जानकारी दिनुभयो । हत्यामा लगत्तै फरार रहेका राईलाई एक सातापछि धरानबाट पक्राउ गरेको हो ।
राईले सुनको गरगहनाको लोभमा वृद्धाको हत्या गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनु भयो । आरोपित राईले वृद्धाको हत्यापछि गुनको गरगहना धनकुटा पाख्रीवास नगरपालिका –४ बुद्धचोक स्थित रुपकला ज्वेलर्समा ४७ हजार रुपैयाँ विक्री गरेपछि हत्या गरेको खुल्न आएको हो ।
आरोपित राईले ६२ बर्षीया वृद्धा घिमिरेको माघ ६ गते बन्चरो प्रहार गरी हत्या गरेको उहाँको भनाइ छ । माघ ६ गते शनिबार बिहान ७ बजे घर नजिकै दाउँरा काट्न गएकी ६२ बर्षीया वृद्धा घिमिरेको शव रुखको जराले किचिएको रहस्यमय अवस्थामा फेला परेको थियो ।
वृद्धा घिमिरेको माघ ६ गते रुखको जराले किचिएको अवस्थामा रहस्यमय ढंगले शव फेला परेको थियो । घटनाको अनुसन्धानका लागि माघ ७ गते प्रदेश प्रहरी कार्यालय विराटनगर बाट तालिम प्राप्त कुकुर सहितको टोली खटिएका थियो ।
प्रहरीले घटना स्थल भन्दा एक सय ५० मिटर पर रगत लागेको बन्चरो, मृतकले प्रयोग गर्न मोवाइल र थैली फेला पारेको थियो ।