२६ फाल्गुन २०७९, शुक्रबार
काठमाडौं । माओवादी घटकहरूको संयुक्त बैठकले शान्ति प्रक्रियाबिरुद्ध षड्यन्त्र भइरहेको भन्दै दबाबमूलक कार्यक्रम गर्ने भएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी घटकहरुको बैठकले शान्ति प्रक्रियाबिरुद्ध षड्यन्त्र भइरहेको निष्कर्षसमेत निकालेको छ ।
बैठकले फागुन २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते अन्तरक्रिया गर्ने निर्णय गरेको हो । त्यस्तै दलहरुले संयुक्त अपिल जारी गर्ने र संघर्षका कार्यक्रमहरु गर्ने बताइएको छ ।
द्वन्द्वकालीन विषयलाई लिएर प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गर्न भन्दै सर्वोच्चमा मुद्धा हालिएपछि माओवादी घटक दलहरु एक ठाउँमा उभिएका छन् ।
बैठकमा नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी क्रान्तिकारी, नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका नेताहरु सहभागी भएका थिए ।