२०८१ भदौ ९ गते आइतबार
दाङ—नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी तुलसीपुरले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । आइतबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी संगठनले तीज मिलन कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष भागवत पौडेलको प्रमुख आतित्थ्यमा सम्पन्न भएको सो कार्यक्रममा जिल्लाका शिक्षक नेता एवं विभिन्न संघ संस्थाका प्रतिनिधि तथा प्रमुखको उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले तीज पर्वलाई सामाजिक जागरणसंग जोड्नु पर्ने बताउनु भयो ।
विशिष्ट अतिथि नेकपा एमाले लुम्बिनी प्रदेशका सचिवालय सदस्य हुकुम बस्नेतले राजनितिक,सामाजिक र आर्थिक रुपान्तरणमा तीज पर्वलाई केन्द्रित गर्नु पर्ने बताउनु भयो । तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले समाजमा रहेको आर्थिक असमानतालाई न्यूनिकरण गर्ने हिसाबले तीज पर्व मनाउनु पर्नेमा जोड दिनु भयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका दाङ जिल्ला उपाध्यक्ष श्यामा रावतले तीजमा देखिएका विकृतिलाई निरुत्साहित गर्दै धर्म संस्कृतिको मौलिकता कायम राख्दै मनाउनु पर्नेमा जोड दिनु भयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी तुलसीपुरका अध्यक्ष होमराज डाँगीले कार्यक्रमको उद्देश्य संगठनको आगामी कार्ययोजनाका विषयमा प्रकाश पार्नु भएको थियो ।सो अवसरमा सहभागि सबैलाई दर खुवाउनुका साथै नृत्यु समेत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा संगठनमा प्रवेश गर्ने नव प्रवेशी शिक्षकहरुलाई सम्मान पनि गरिएको थियो ।

संगठनका नगर कमिटी अध्यक्ष होमराज डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव मधु नेपालीले गर्नु भएको थियो ।
महिला विभाग गठन
यसैबीच सोही कार्यक्रम मार्फत नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभाग समेत गठन गरिएको छ । तुलसीपुर नगरक कमिटी उपाध्यक्ष उमा गौतमको संयोजकत्वमा १९ सदस्यीय महिला विभाग गठन गरिएको हो । जसमा तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाबाट प्रतिनिधित्व हुने गरी एक—एक जना महिला सदस्यहरु चयन गरिएको छ ।

