
नेपालगन्ज, पुस २४ गते । पछिल्लो केही दिनदेखि चिसो बढेर सुरु भएको शीतलहरका कारण पश्चिम तराईका जिल्ला बाँकेमा जनजीवन प्रभावित भएको छ ।
बाक्लो हुस्सु र शीतलहरले बाँकेका पालिकामा जनजीवन कष्टकर बनाएको छ । बिहानैदेखि बाक्लो हुस्सुले ढाकिने र तापक्रममा गिरावट आउने क्रमले चिसो बढ्दै गएको छ ।
चिसोका कारण बच्चा, वृद्धवृद्धा र विपन्न वर्ग बढी प्रभावित भएका छन् । अत्यधिक चिसोका कारण मानिसहरूलाई घरबाहिर निस्किन कठिनाइ भइरहेको छ । यसले गर्दा बजार, कार्यालय र विद्यालयमा मानिसहरुको उपस्थिति न्यून बनेको छ । सोही कारणले बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरा बजारमा चहलपहल घट्दै गएको छ ।
चिसोका कारण स्वास्थ्यमा असर पर्ने सम्भावना बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई विशेष ख्याल गर्न चिकित्सकहरूले आग्रह गरेका छन् ।
शीतलहर र हुस्सुकै कारण नेपालगन्जबाट काठमाडौंलगायत पहाडी र हिमाली जिल्लामा हुँदै आएका हवाई उडान पनि प्रभावित र अनियमित भएका छन् ।
केही दिनयता विशेष गरि बिहानको समयमा हुने हवाई उडानहरु अनियमित भएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।