१० श्रावण २०८०, बुधबार
गुल्मीः— गुल्मीमा श्रीमानको अपहेलनाबाट पीडित भई डिप्रेशनमा पुगेकी एक महिलाले गुल्मीमा आफ्ना सन्तान सहित आत्महत्याको प्रयास गरेकी छन ।
जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङ्ग निन्युखर्ककी मिना बिकले मंगलबार राती श्रीमानले अपहेलना गरेको भन्दै दुई छोरी सहित आगो लगाएर आत्म हत्याको प्रयास गरेकी हुन। बिकले छोरी सहित आफूलाई लगाउन खोजेको आगो गोठमा लागेको थियो । आगलागीबाट गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ ।
मिनाका श्रीमान मंगल बिकले अपहेलना गरेपछि उनी विगत ५ वर्षदेखि माइती घरमा बस्दै आइरहेकी छिन ।वि.सं. २०६९ साल मंसिरमा प्रेम विवाह गरेका उनीहरुले दुई छोरीलाई जन्म दिएपछि सम्बन्धमा फाटो आएको थियो । माइती पक्षका अनुसार दुई छोरीलाई जन्मदिएपछि श्रीमानले मीनालाई अपहेलना गर्न थालेका हुन ।श्रीमानले अपहेलना सहन नसकेर मीना डिप्रेसनमा पुगेको उनकी दिदी दुर्गा बि.क.ले बताईन ।मीनाका श्रीमान मंगल बि.क. नेपाली सेनामा कार्यरत छन ।
उनी अहिले जाजरकोटस्थित नेपाली सेनाको चन्द्रनाथ गणमा कार्यरत छ्न ।गएराती गोठ बङ्गालोमा आगो लगाएर हिँडेकी मिना एकाएक बेखबर भएपछि प्रहरीले उनलाई खोजी गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।
आगलागीबाट खरले छाएको २ तले गोठ जलेर पूर्ण रुपमा जली क्षति भएको डिएसपी पाण्डेले बताए । डिएसपी पाण्डेका अनुसार आगलागीबाट मानवीय क्षति नभए पनि नगद तिन लाख पचास हजार,साढे तिन तोला सुनका गहना सहित अन्य जिन्सी गरी करिब १२ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।