१३ जेष्ठ २०८०, शनिबार
संखुवासभा —संखुवासभामा लेक लागेर एक जनाको मृत्यु भएको ।लेक लागेर मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीया तुलाराम विष्टको मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए।वडा अध्यक्ष शेर्पाका अनुसार विष्ट शुक्रबार मकालु बेस क्याम्प जाँदै गर्दा बिरामी परेका थिए ।
मकालु–२ सेदुवाका विष्ट विदेशी टोलीको भरिया काम गर्दै आएका थिए। विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग भरियाका रुपमा उनी पाँच दिनअघि घरबाट हिँडेका थिए।
विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकोप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको वडाध्यक्ष शेर्पाले बताए। सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न पाँच दिनको पैदल दूरीमा पर्दछ।घटनाको बारेमा प्रहरीले भने बिहान ११ बजे थाहा पाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताए।