माघ २०,२०७९ आइतबार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तासाझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताउएका छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरे लगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले आफूले राष्ट्रिय सहमति नै गरेर अघि बढने कुरा गरिरहेको उल्लेख गर्दै सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा आफू रहेको बताए ।
त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरी भेट गरी देखिएको समस्या तत्काल हल गर्ने उनको भनाई थियो । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यस्ता अप्ठ्यारालाई छलफल गरी हल गर्ने बताए ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग आइतबार बिहान भएको भेटमा मन्त्रीहरु फिर्ता बोलाए पनि सरकारलाईं दिएको समर्थन भने फिर्ता नगर्ने बताउनुभएको पनि स्मरण गराए ।