३० फाल्गुन २०७९, मंगलवार
काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान १० दलीय सत्ता गठबन्धनलाई १० टाउका भएको रावणको संज्ञा दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धनलाई रावणसँग तुलना गरेका हुन्। उनले १० वटा टाउका एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धन मुलुकका लागि रावण भएको चित्रण गरे।
उनले १० वटा टाउका एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धनलाई रावणको रुपमा चित्रित गरे । उनले १० दलिय गठबन्धनका १० टाउका एक ठाउँ भएपछि भयंकर बिध्वंस मचिने दाबी गरे।
उनले भने, ‘अहिले एउटा षड्यन्त्र के हुन खोजेको छ भने संविधानको अक्षरमा अस्पष्टता होला, लेखाइमा स्पष्टता नहुने गरी रहेको हुनसक्छ, सभामुख वा उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एउटा महिला हुनुपर्छ, संविधानको भावना त्यही हो। यसको अपव्याख्या गर्ने ठाउँ हुनसक्छ तर त्यसको अपव्याख्या नगरी संविधानको कार्यान्वयन गर्नुपर्छ। अहिले १० दलीय गठबन्धनका नेताहरु संविधानको त्यो मर्मलाई मिच्न, महिला उत्थानलाई रोक्न, महिलाको अधिकार खोस्न, निर्वाचन आयोग त प्रयोग गरिसके अरु संस्था पनि प्रयोग गर्न सक्छन्।’
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्था भए पनि वर्तमान गठबन्धनले त्यसलाई बेवास्ता गरेको आरोप पनि उनले लगाए।