१ मंसिर २०७९,बिहिबार
सत्तारुढ दलका प्रमुख नेताहरुले प्रतिगमनलाई परास्त गर्न मंसिर ४ को आम निर्वाचन लोकतान्त्रिक बाम गठबन्धनले जित्नु पर्ने बताएका छन् । बिहिबार देशका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनिहरुले संविधानको रक्षा,स्थायित्व र मुलुकको समृद्धिका लागी लोकतान्त्रिक बाम गठबन्धन अहिलेको आवश्यकता रहेको औल्याए । कुन सभामा कसले के—के भने
गठबन्धन अझै १५ टिक्ने प्रधानमन्त्री देउवाको दावी
नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवाले संविधान रक्षा र स्थायित्वका लागी गठबन्धन बनेको बताएका छन् ।अछामको मंगलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिलेको सत्तारुढ गठबन्धन अझै १५ वर्ष भन्दा बढी टिक्ने दाबी समेत गरे ।प्रधानमन्त्री देउवाले संविधान रक्षाका लागि पटक(पटक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्झाउँदा पनि नमानेको बताए ।
संविधानको रक्षाका लागि हामीले पटक(पटक ओलीजीलाई सम्झायौं । उहाँले मान्नु भएन । संसद् विघटन गर्नुभयो । ओलीजीले आलोचना पनि सहन सक्नु भएन,प्रधानमन्त्री देउवाले भने, बाध्य भएपछि बहुमत पुग्ने गरी अदालत गयौं । अदालतले ओलीजीलाई हटायो । अन्तमा मेरो नेतृत्वमा सबैको सहकार्यमा सरकार निर्माण भयो । अब संविधान रक्षा र र स्थायित्वका लागि यो गठबन्धन १०र१५ वर्ष बढी टिक्छ । कम्तीमा ३र४ चुनावहरूमा यो गठबन्धन सहकार्य गर्छ । त्यसका लागि हाम्रा साझा उम्मेदवारले जित्न आवश्यक छ ।
संविधान रक्षा, स्थायित्व र समृद्धिका लागी गठबन्धनः प्रचण्ड
काठमाण्डौ— नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मंसिर ४ को निर्वाचन प्रतिगमनलाई परास्त गर्ने अवसरको रुपमा लिनु पर्ने बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उनले मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न सकिए मुलुक विकास र समृद्धिको दिशामा अघि बढने विश्वास समेत व्यक्त गरे।
अध्यक्ष दाहालले केपी ओली र उनको गठबन्धन फेरि जितेर आए संविधान च्यात्ने भएकाले उनीहरुलाई नेपाली जनताले तिरस्कार गरेर अघि बढनुपर्ने बताए । ओली संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको उनको गम्भीर आरोप थियो ।
उनले भने, ‘हाम्रो गठधन संविधानको रक्षाको निम्ति, स्थिरता र विकासको निम्ति हो । अर्को पनि एउटा गठबन्धन छ । केपी ओलीको नेतृत्वमा । तर, उनीहरु गठबन्धन भन्दैनन् । गर्छन गठबन्धन । उनीहरु राजावादी छन । राजतन्त्र फर्काउने कुरा गर्छन । उनीहरुभित्र अलगाववादी छन्। देशको एकता खलबल पार्ने कुरा गर्छन । उनीहरु दक्षिणपन्थी छन्। संविधान मिच्ने र च्याप्ने कुरा गर्छन । अनि, फेरि भोट माग्न जनता कहाँ आउँछन्।’अध्यक्ष दाहालले सत्तारुढ दलहरु प्रतिगामी शक्तिहरुलाई परास्त गरेर सम्पूर्ण शक्तिको साथ मुलुकको समृद्धिको अभियानमा लाग्न प्रतिवद्ध रहेको पनि बताए ।
परमादेशबाट बनेको सरकार भनेर ओलीले झुठ प्रचार गरेः माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय हुने देखेपछि एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाउने गरेको आरोप लगाएका छन् ।लोकतान्त्रिक बाम गठबन्धन काठमाडौं(२ द्वारा बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले परमादेशबाट बनेको सरकार भनेर ओली एण्ड कम्पनीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको टिप्पणी समेत गरे ।
तत्कालीन एमाले र माओवादी केन्द्रको सहकार्यमा मात्रै २०७४ सालको निर्वाचनमा जनताले बहुमत दिएको सत्यलाई समेत ओलीले अस्वीकार गरेर झुट प्रचार गरिरहेको अध्यक्ष नेपालको भनाइ थियो ।
उनले जनताले दिएको मतलाई स्वीकार गरेर सरकार चलाउन नसक्ने ओलीलाई आसन्न निर्वाचनमा पराजित गराउन पनि आम मतदातालाई अपील गरे ।
उनले भने, ‘सर्वोच्च अदालतको आदेशबाट बनेको सरकार होइन । यदि संसदमा बहुमत नभएको भए, संसदमा बहुमत सदस्यले समर्थन नगरेको भए सर्वोच्च अदालतले त्यसलाई स्वीकार गर्ने अवस्था बन्ने थिएन । परमादेशबाट बनेको सरकार भनेर केपी ओली एण्ड कम्पनीले जुन लाञ्छना लगाउने काम गरेको छ । त्यो अत्यन्तै आपत्तिजनक छ । त्यो दूराग्रहयुक्त पराजयको पीडाबाट आएको अभिव्यक्ति मात्रै हो ।’अध्यक्ष नेपालले ओली नेतृत्वको विपक्ष गठबन्धनलाई राष्ट्रघाती भन्दै आक्रोश व्यक्त गरे ।