२४ पौष २०७९ आइतबार
इरानमा हिजाबविरोधी दुई प्रदर्शनकारीलाई फाँसी दिइएको छ। इरानको मेजान समाचार संस्थाका अनुसार मोहम्मद महदी करामी र सय्यद मोहम्मद होसेनीलाई जनवरी ७ को बिहान फाँसी दिइएको थियो। यी दुवैमाथि अर्धसैनिक बलका जवानको हत्या गरेको आरोप लागेको थियो। अदालतले गत डिसेम्बरमा उनीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो। जनवरी ३ मा सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरेको थियो।
नोभेम्बर ३ मा हिजाबविरोधी प्रदर्शनका क्रममा मारिएका हदिस नजाफीको सम्झनामा करजमा मानिसहरूको समूह जम्मा भएको थियो।
उक्त समूहले रुहोल्ला अज्मिनलाई निर्वस्त्र हत्या गरेको आरोप लागेको छ। यस मुद्दामा कुल १६ जनालाई पक्राउ गरिएको थियो तर करामी र होसेनी मुख्य अभियुक्त भएको दाबी गरिएको थियो।
रुहोल्ला बासिज मिलिशियाका एक सदस्य थिए। यो संगठन इरानको इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित छ।
थप दुईजनालाई फाँसी हुन सक्ने
समाचार एजेन्सी एएफपीका अनुसार हिजाबको विरोध गरेको आरोपमा इरानी अदालतले अहिलेसम्म १४ जना प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ।
तीमध्ये चारजनालाई फाँसी दिइएको छ। सर्वोच्च अदालतको आदेशपछि थप २ जना प्रदर्शनकारीलाई मृत्युदण्ड दिने निर्णय भएको छ।
बाँकी ६ जना नयाँ सुनुवाइको पर्खाइमा छन् भने दुईजनाले सजायविरुद्ध अपिल गर्ने मौका पाएका छन्।
२०२२ मा ५०० जनालाई मृत्युदण्ड
नर्वेको इरान मानवअधिकार समूहका अनुसार इरानले सन् २०२२ मा ५०० भन्दा बढी लाई मृत्युदण्ड दिएको छ। उनीहरूलाई निष्पक्ष सुनुवाइबिना नै क्रान्तिकारी अदालतको बन्द ढोकापछाडि सजाय सुनाइएको थियो।
यसअघि सन् २०२१ मा ३३३ र सन् २०२० मा २६७ जनालाई मृत्युदण्ड दिइएको थियो। गत डिसेम्बरमा इजरायलको गुप्तचर निकायसँग सम्बन्ध रहेको आरोपमा चारजनालाई फाँसी दिइएको थियो।
ससुराको हत्या गर्ने एक महिलालाई पनि मृत्युदण्ड सुनाइएको छ। अधिकार समूहका अनुसार इरानमा मृत्युदण्डको सजाय सुनाइने महिलाको संख्या बढेको छ। पति वा नातेदारको हत्या गर्ने महिलालाई फाँसी दिइँदै छ।
२२ वर्षीया किशोरीको मृत्युपछि प्रदर्शन
गत सेप्टेम्बर १६ मा २२ वर्षीया महासा अमिनीको मृत्यु भएपछि प्रदर्शन शुरु भएको थियो। हिजाब नलगाएको भन्दै प्रहरीले महसालाई पक्राउ गरेको हो। उनले हिरासतमै ज्यान गुमाएकी थिइन्।