राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा समानुपातिकतर्फ प्रतिनिधि सभामा कसलाई सांसद पठाउने भन्नेमा विवाद भएको छ।
प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकतर्फ १३ सिट पाएको छ। ती १३ मा क-कसलाई पठाउने भन्नेमा भने रास्वपामा विवाद देखिएको हो।
समानुपातिकतर्फ पाएको १३ सिटमध्ये आदिवासी जनजातिबाट ३ (डाक्टर ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ) थारूबाट १ (अशोक चौधरी)को सम्भावना छ। दलिततर्फ २ (सन्तोष परियार र कल्पना रोक्का), मधेशीतर्फ २ (मनीष झा र तपेश्वर यादव)को सम्भावना छ।
पिछडिएका वर्गबाट १(बिनिता कठायत) र १ जना मुस्लिम(असिम साह) लाई बनाउने सम्भावना छ।
अरु क्लस्टरबाट कसलाई पठाउने भन्नेमा विवाद नभए पनि खस आर्य क्लस्टरबाट पुरुष पठाउने कि महिला भन्नेमा विवाद देखिएको छ।
खसआर्यको क्लस्टरबाट डाक्टर चन्दा कार्की र निशा डांगीलाई पठाउने कि गणेश कार्की र दीपक बोहोरालाई पठाउने भन्नेमा विवाद देखिएको हो।
रास्वपाका महामन्त्री मुकुल ढकालले डाक्टर चन्दा कार्की र निशा डांगीलाई पठाउन चाहेका छन्। तर गणेश कार्की र दीपक बोहोराले पनि सांसद बन्नका लागि लबिङ गरेका छन्।
समानुपातिक सांसदबारे रास्वपाको बैठक भने बसेको छैन। रास्वपाका सभापति रवि लामिछाने चितवनमै छन्। उनी शनिबार काठमाडौं आउँदै छन्। शनिबार पार्टीको बैठक बसेर समानुपातिक तर्फको सूची बुझाउने तयारी रहेको रास्वपाका एक नेताले सेतोपाटीलाई बताए।
ती नेताका अनुसार लामिछानेले अहिलेसम्म यसबारे कसैसँग छलफल गरेका छैनन्। स्रोतका अनुसार लामिछानेले महामन्त्री ढकालको कुरा काट्न सक्दैनन् भने बोहोरालाई पनि पन्छाउन सक्दैनन्।
ढकाल पछिल्लो समय रवि लामिछानेसँग धेरै निकट छन्। कालिकोटमा बनाइएको रास्कोट अस्पताल सञ्चालनको जिम्मेवारी ढकालले लिएका थिए। अर्कोतिर बोहोराले लामो समयदेखि रविको नजिक रहेर काम गरेका छन्। रविले चलाउने सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रमको निर्माता भएर बोहोराले सुरूदेखि काम गरेका छन्। बोहोरा रविको चुनावी देश दौडाहामा सँगै सँगै हिँडेका थिए।
सेतोपाटी बाट