१५ जेष्ठ २०८०, सोमबार
काठमाडौं — आर्थिक बर्ष २०८० /८१ को बजेट आज सार्वजनिक हुदैँछ । संघीय संसद भवन, बानेश्वरमा बस्ने बैठकमार्फत सो बजेट सार्बजनिक हुन लागेको हो । बैठक दिउँसो ४ः१५ बजे बोलाईएको छ ।‘अर्थमन्त्री डा। प्रकाशशरण महतले आ.ब. २०८/८१ को राजश्व र व्ययको बार्षिक अनुमान (बजेट) पेश गर्ने’ सम्भावित कार्यसुचीमा उल्लेख छ ।
नयाँ संविधान जारी भए पछि हरेक गणतन्त्र दिवसका दिन अर्थात जेठ १५ गते नयाँ बजेट सार्वजनिक गर्दै आईएको छ । यो संबैधानिक बाध्यता भएकाले पनि सरकारले आजैका दिनमा बजेट सार्वजनिक गर्न लागेको हो ।
सरकारले आर्थिक सुधार गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट ल्याउने भएको छ । १७ खर्बभन्दा केही रकम बढ्ने गरेर अर्थ मन्त्रालयले बजेट ल्याउने तयारी गरेको छ ।
चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो, जसलाई मध्यावधि समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब खर्च हुने अनुमान गरिएको थियो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री महतले बजेटमा आर्थिक सुधारसहित अनावश्यक बोझ भएका समितिहरु खारेज गर्ने घोषणा बजेटमा गर्नेछन् ।
अर्थमन्त्री महतले बजेटमा नयाँ ठूला परियोजना भने घोषणा गर्ने छैनन् । सांसद विकास कोष कार्यक्रम नराख्नेमा करिब सहमति देखिएको छ । चल्न नसकेका केही सार्वजनिक संस्थानको निजीकरण तथा मर्जरको घोषणा बजेटमा हुनेछ ।
अहिले नै तलब दिन नसकिने अवस्था रहेको कारण कर्मचारीको सेवा सुविधा र सामाजिक सुरक्षा भत्ता नबढाउने तयारी छ ।
सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्ने र आर्थिक रुपले सक्षम वर्गलाई नलिएमा प्रोत्साहन दिने खालको योजना बजेटमा ल्याउने तयारी छ ।