शनिबार माघ २६,२०८१
काठमाडौं : मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगो लागेको छ।
सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा रहेका तीनवटा कोठामा शनिबार बिहान पौने ८ बजेतिर आगो लागेको हो। यो तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत छ।
सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले वारुण यन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए।
आगलागीको कारण खुलेको छैन। आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन।
आगो लागेको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत छ ।