२५ माघ २०७९, बुधबार
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिँदै छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण अन्तिम चरणमा विश्वासको मत लिन लागेका हुन ।
सत्ता गठबन्धनअन्तर्गत नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा (एमाले) का रावललाई नागरिक उन्मुक्तिले भने विश्वासको मत नदिने संकेत गरेको छ ।
नागरिक उन्मुक्तिले प्रदेश सरकारलाई विश्वासको मत दिन टीकापुर घटनाका राजबन्दीको रिहाइ र मुद्दा फिर्तालाई प्रमुख शर्त बनाएको थियो । तर, १० वर्ष अगाडि दोषी ठहर भएका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि उक्त पार्टी वर्तमान सरकारलाई विश्वास गर्ने अवस्थामा छैन ।
उन्मुक्तिका सात जना प्रदेशसभा सदस्य मंगलबार रेशम चोधरीलाई भेट्न काठमाडौं डिल्लीबजार कारागार पुगेका थिए । कारागारमा चौधरी र सात जना सांसदबीच घण्टौं छलफल चल्यो । छलफलमा रेशमले आफ्ना सांसदलाई एमाले नेतृत्वको सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिन आग्रह गरेको बताइएको छ ।
कारागारमा भएको छलफलमा रेशमले आफू रिहा नहुँदासम्म सरकारमा नजान र विश्वासको मत पनि नदिन प्रदेशसभा सदस्यलाई आग्रह गरेको स्रोतको दाबी छ ।
मुख्यमन्त्री रावलले भोलि बिहीबारसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । सोहीअनुसार बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
नागरिक उन्मुक्तिले विश्वासको मत नदिए नेकपा (एमाले) नेतृत्वको प्रदेश सरकार ढल्ने लगभग पक्का छ ।
रावल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक गरी २९ जना प्रदेसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा विश्वासको मतका लागि मुख्यमन्त्री रावललाई कम्तिमा २७ जना प्रदेशसभा सदस्यको साथ आवश्यक छ ।
प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र एक जना स्वतन्त्र भने विपक्षमा छन् । कांग्रेसका १९ र एकीकृत समाजवादीका चार जना प्रदेशसभा सदस्य छन् ।