२० श्रावण २०८०, शनिबार
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार काण्ड र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गर्न केन्द्रीय सदस्यहरुले माग गरेका छन् ।
केन्द्रीय कमिटी बैठक चौथो दिनसम्म आइपुग्दा बैठकमा बोल्ने सदस्यहरुले विभिन्न भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न माग गरेका हुन् ।
पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम भेपमा सुन तस्करी प्रकरणमा जोडिएको भन्दै नेताहरुले महराप्रति पनि छानबिन हुनुपर्ने बताएका छन् । पार्टीभित्रका नेताहरुमा सुशासन कायम गराउन नसकेमा बाहिर पनि गराउन नसकिने भन्दै नेताहरुले पार्टीभित्रैबाट सुशासनप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।
माओवादी केन्द्रीय सदस्य माधव सापकोटाले बैठकमा सुशासनको सम्बन्धमा गम्भीर छलफल भइरहेको बताएका छन् । उनले नेताहरुको जीवनशैली, कार्यशैली र आम्दानीका स्रोतहरुमाथि पनि प्रश्न उठेको बताए । पार्टी उपाध्यक्ष महराको सम्बन्धमा मिडियामा आउनेबित्तिकै पक्राउ गर्ने कानूनी व्यवस्था नभएको भन्दै उनले अनुसन्धानको दायरामा ल्याउनुपर्नेगरी कुनै उजुरी नआएको बताए । यद्यपि कोही नेताहरुको संलग्नता यस्तो प्रकरणमा देखिएमा कारबाही गर्ने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वचन दिइसकेकोले सो पचनमा विश्वास गर्नुपर्ने उनको भनाइ छ ।
अर्का केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले चर्चामा आएजस्तै माओवादी केन्द्रका नेताहरुको संलग्नता पुष्टि भएमा नेताहरुलाई पार्टीले संरक्षण गर्नु जरुरी नभएको बताए । उनले पार्टी बचाउने कि नेता बचाउने भन्ने सवाल उठ्ने भन्दै त्यस्तो अवस्थामा पार्टी बचाउन नेतालाई कारबाही गर्नुपर्ने बताए ।
त्यस्तै, अर्का केन्द्रीय सदस्य नारायणी शर्माले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दा पार्टी भित्रकै मान्छेहरु परे पनि छोड्न नहुने बताइन् । अनुसन्धानमा दोषी देखिए कारबाही गरेर अघि बढ्नुपर्ने भन्दै उनले उपाध्यक्ष महराको सम्बन्धमा प्रश्न उठेको र यसबारे सम्बन्धित निकायले आफ्नो ठाउँबाट अनुसन्धान गरिरहेको बताइन् ।
केन्द्रीय सदस्य रामकुमार शर्माले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्न फायर खोलिसकेपछि पछि हट्न नहुने बताए । उनले आफ्नो या अर्काको मान्छे हेरेर कारबाही गर्ने नभएर पार्टीभित्रकै मान्छे दोषी देखिए पनि कारबाही गर्नुपर्ने बताए ।
अर्का केन्द्रीय सदस्य मुक्ति प्रधानले सुन तस्करी अथवा भ्रष्टाचारमा संलग्न पार्टीका शीर्ष नेताहरुको संलग्नता भए पनि नछाडिने बताए । उनले कारबाहीका लागि प्रमाण भने हुनुपर्ने भन्दै सुशासन, समृद्धि र सामाजिक न्यायको प्रत्याभुति दिनका लागि पार्टी र सरकार निर्मम हुन जरुरी रहेको बताए ।