२७ पौष २०७९ बुधबार
दाङ—सुनचाँदीको काममा संलग्न कालिगढलाई परिचयपत्र वितरण गरिने भएको छ । सुनचाँदी व्यवसायी संघ तुलसीपुरले यस क्षेत्रमा सुनचाँदीको काममा आवद्ध कालिगढहरुलाई परिचय पत्र वितरण गर्ने भएको हो ।
कालिगढहरुको एकिन गरी उनीहरुको तथ्याङ्क राख्नको लागी परिचय पत्र वितरण गर्न लागेको संघका अध्यक्ष हरिकृष्ण बि.क.ले बताए ।
हालै सम्पन्न संघको १४ औ बार्षिक साधारणसभाले कालिगढहरुलाई परिचयपत्र दिने निर्णय गरेको थियो ।‘संघको बार्षिक साधारण सभाले तुलसीपुर क्षेत्रमा सुनचाँदीको काम गर्ने कालिगढलाई परिचयपत्र दिने निर्णय गरेको छ,अध्यक्ष बि.क.ले भने,त्यसलाई अब छिट्टै कार्यान्वयन गरिनेछ ।’
यस्तै संघले संघमा आबद्ध व्यवसायीहरुको हितका लागी राहत कोष समेत स्थापना गर्ने भएको छ । संघका कार्यालय सचिव रामचरण गुप्ताका अनुसार संघमा आवद्ध कुनै पनि सदस्य बिरामी भएमा वा कसैको मृत्यु भएमा उक्त राहत कोषबाट २५ हजार र आगलागीबाट पीडित व्यवसाईलाई ११ हजार १ रुपैया आर्थिक सहयोग गरिने छ ।