१५मंसिर २०८१,शनिबार
दाङ ।साहित्यकार सुरेश कुमार पाण्डेको ‘जेईको सम्झना’लघुकथा संग्रहको विमोचन गरिएको छ ।राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा शनिबार घोराहीमा एक कार्यक्रमका बीच कृतिको विमोचन गरिएको हो।वरिष्ठ साहित्यकार एंव कार्यक्रमका प्रमुख अतिथि नारायण प्रसाद शर्मा र विशिष्ट अतिथि शताब्दी महिला क्वारीदेवी भण्डारीले एकसाथ कृतिको विमोचन गर्नु भएको हो ।
मातृभक्तीमा आधारित जेईको सम्झना लघुकथाको समीक्षात्मक टिप्पणी वरिष्ठ साहित्यकार नारायण प्रसाद श्रेष्ठ र चन्द्र बहादुर थापाले गर्नु भएको थियो ।दाङको घोराही —१८ मा रहेर साहित्य सिर्जना गर्दै आउनु भएका साहित्यकार पाण्डे राप्ती साहित्य परिषद दाङका उपाध्यक्ष समेत हुनुहुन्छ।उहाँले विगत लामो समयदेखि साहित्यको पाटोमा रहेर कलम चलाउदै आउनु भएको छ।मूलतः पाण्डेका कृतिहरु सामाजिक रुपान्तरणको दिशामा केन्द्रित छन।यस कृतिमा पनि उहाँले जेई(आमा)को सन्तान प्रतिको भूमिका र समाजले आमा प्रति गर्ने व्यवहारको विषयलाई खदिलो रुपमा प्रस्तुत गर्नुभएको छ ।
वरिष्ठ साहित्यकार एंव प्रमुख अतिथि नारायण प्रसाद शर्माले आमाको हरेक परिवेशलाई सुक्ष्म रुपमा प्रस्तुत गरेको भन्दै साहित्यकार पाण्डेको प्रशंसा गर्नुभयो ।अर्का साहित्यकार पुरुषोत्तम खनालले लेखक पाण्डेबाट सिर्जित कृतिहरुले नेपाली साहित्य विकासमा विशेष योगदान दिने बताउनु भयो ।
कार्यक्रममा लेखक एंव श्रष्टा पाण्डेले आफ्नो कृतिको विषयमा प्रकाश पार्नु भएको थियो ।नमस्ते आधुनिक लघकथा मञ्च चितवन मार्फत प्रकाशित १ सय २० पेजको कृतिमा ५४ वटा लघुकथा समावेश छन।यस अघि साहित्यकार पाण्डेका ‘अन्धाकार चिर्ने दियो‘(गजलसङग्रह)—वि.स.२०५७,‘देशभक्तिआवाज’-गजलसङ्ग्रह)—सन् २००२२,‘अनुभव’ लघुकथा कृति प्रकाशित भइसकेका छन।राप्ती साहित्य परिषद दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम खत्रीले गर्नु भएको थियो ।
