११ चैत्र २०७९, शनिबार
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यही चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रिय कार्यालयमा पेरिसडाँडामा बसेको माओवादीको पदाधिकारी बैठकले ढिलोमा पर्सि सोमबारसम्म मन्त्रिपरिषदलाई विस्तार गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद विस्तारसँगै थाती रहेका कामहरुलाई तीव्रता दिने निर्णय उक्त बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गर्नेबारे बहस गरिएको थियो । पौडेलले भने, ‘एउटा संसदलाई सुचारु गर्ने बारमा कसरी जाने र विभिन्न गठबन्धनमा रहेका पार्टीहरुसँग छलफल गरेर संसदलाई प्रभावकारी, गतिशील ऐन, कानुनहरु पनि बनाउनेलगायतका विषयमा समिक्षात्मक छलफल भयो । दोस्रो, क्याविनेटको विस्तार बढिमा पर्सीसम्ममा छिटो भन्दा छिटो क्याविनेट विस्तार गरेर डेलिभरीका कामहरु सुरुवात गर्ने भन्ने बारेमा छलफल भयो । तेस्रो चाँही सरकार र पार्टीलाई कसरी जोडने भन्ने बारेमा पनि कुरा भयो ।’
उनका अनुसार बैठकमा वर्तमान १० दलीय गठबन्धनलाई साथमा लिएर जनताले उठाएको जनसरोकारका विषयहरु पार्टीसँग जोडेर पार्टी र सरकारलाई सँगै लिएर जानेबारे पनि छलफल भएको थियो । यसैगरी प्रदेशका सरकारहरु पनि संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउने गरी अघि बढ्ने बारेमा पनि संक्षिप्त कुराकानी भएको उनले बताए ।
बैठकमा नेताहरुले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पनि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका थिए ।