माघ २९,२०७९ आइतबार
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सरकारले दिएको सार्वजनिक विदाको विरोध गरेका छन्।
थापाले सामाजिक सञ्जालमा विदाको विरोध गर्दै आइतबार हजारौं निर्दोषको ज्यान लिने माओवादी हिंसा राष्ट्रिय पर्व हुन नसक्ने भन्दै आपत्ति जनाएका छन्।
साथै उनले यही मौकामा यस्तो निर्णय लिँदासमेत राजा र हिन्दु राष्ट्रको वकालत गर्ने पार्टी कुन मुखले सरकारमा बसिरहेको छ भन्दै राप्रपामाथि प्रहारसमेत गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह शुरु गरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय आपत्तिजनक छ।
हजारौं निर्दोषको ज्यानलिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन। राजावादी र हिन्दुराष्ट्रको वकालत गर्ने पार्टी समेतको सहभागितामा यस्तो निर्णय हुनु निर्लज्जताको पराकाष्टा हो। राजा र हिन्दु राष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ?’