अरुण कुमार नेपाली
जेठ १७ ।केही दिनदेखि दाङ सहित तराईका जिल्लामा बढेको गर्मीका कारण जनजीवन प्रभावित बनेको छ ।गर्मीका कारण सबै भन्दा बढी दैनिक ज्यालादारी गर्ने मजदुरहरुको जीवन कष्टकर बनेको छ । उखरमाउलो गर्मीले ज्यालादारी मात्रै हुने आफु जस्ता मजदुरलाई काम गर्न निकै कठिनाई भएको तुलसीपुर—१३ का ५१ वर्षिय खुशीराम चौधरीले बताउनु भयो ।
आफ्नो प्रशस्त जग्गा जमिन नभएका कारण चौधरीले दशकौदेखि मजदुरी गर्दै आउनु भएको छ ।पछिल्ला बर्षहरुमा सहनै नसक्ने गरी गर्मी बढ्दा आफुहरुलाई काम गर्न साह्रै गाह्रो हुने गरेको चौधरीको भनाई छ ।“बढ्दो गर्मीले होला काम गर्ने बेला रिङगाटा लाग्ने जस्तो हुन्छ । तर के गर्ने काम नगरी सुखै छैन ।
परिवार पाल्नै प¥यो,” तुलसीपुर—अमिलिया जोड्ने सडक निर्माणको काम गरिरहनु भएका रोल्पाका २१ वर्षिय चिनबहादुर बढा क्षेत्रीले बताउनु भयो ।गर्मीले कठिन भएपनि मजदुरहरुलाई काम गर्नु पर्ने बाध्यता छ ।कामै गर्न नसकिने गरी तापक्रम बढ्दा आफूहरुलाई बिहानबेलुकाको छाक टार्न गाह्रो भएको सोही सडक निर्माणमा संलग्न ३१ वर्षिय चौधरीले बताउनु भयो ।
“यस्तो पोल्ने गर्मीमा काम गर्दा चक्कर लाग्ने जस्तो हुने,शरीर धेरै गल्ने जस्ता समस्या हुन्छ , तर के गर्नु परिश्रम नगरे साँझ बिहानको चुल्हो बल्दैन । घाम पानी भनेर नहुने रहेछ । जीवन त चलाउनै प¥यो, चौधरीले भन्नु भयो ।”
त्यस्तै लमही नगरपालिका वडा नं.९ का कुलनाथ योगी पेशाले अटो चालक हुनुहुन्छ ।अहिले गर्मी बढ्दा यात्रु पाउन र चर्को घाममा अटो चाउन निकै मुस्किल भएको उहाँ बताउनु हुन्छ । योगीले विगत ७ वर्षदेखि रिहार लमही सडकखण्डमा अटो चलाउदै आउनु भएको छ ।“अहिले चर्को घामसंगै चल्ने तातो हावाले विरामी नै बनाउला जस्तो भइसक्यो ।तर भोको पेट पाल्न त काम गर्नै प¥र्यो ।दुई पैसा कमाउन भनेको अत्यधिक गर्मीले मानिसहरु घरभित्रै बस्न बाध्य छन त्यसैले आम्दानी पनि छैन,” उहाँले भन्नु भयो ।
मानिसहरुको दैनिक जनजीवन मात्र नभई अहिले तराईकाा जिल्लामा बढेको गर्मीका कारण सकारी कार्यालयमा सेवा लिन जानका लागि पनि निकै सास्ती भएको सेवाग्राही बताउछन ।बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल पनि कम भएको छ । चर्को घामले दिउँसोको समयमा घर बाहिर निस्केर काम गर्न मुस्किल भइरहेको तुलसीपुर—१३ रनियापुरकी ४८ वर्षिय कमला नेपाललीले बताउनु भयो ।
नेपालगञ्जको तापक्रम ४४ डिग्री सेल्सियस,विद्यालयमा विदा थप
यसैबीच नेपालगन्जको तापक्रम ४४ डिग्री सेल्सियस पुगेको छ। तापक्रम अत्यधिक मात्रा बढेपछि विद्यालयमा बिदा थप गरिएको छ। गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि जेठ १५ गतेदेखि १९ गतेसम्मका लागि दिइएको बिदालाई थप गरेर जेठ २० गतेदेखि असार ७ गतेसम्म थप गरिएको नेपालगन्ज उपमहानगरले जनाएको छ ।
विद्यालयको क्यालेण्डरमा उल्लेख गरिएको गर्मी बिदा समेत मिसाएर जेठ २० गतेदेखि असार ७ गतेसम्म नेपालगन्ज उपमहानगर भित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो । उहाँले गर्मी घट्नुको सट्टा झन बढ्दै गएर तापक्रमले विगतका वर्षको सबै कीर्तिमान तोड्न थालेपछि बिदा थप गरिएको बताउनुभयो।
चिकित्सकले गर्मीसँगै तातो हावा र लु चल्नेक्रम जारी रहेकाले दिउँसोको समय घरबाहिर हिँडडुल नगर्न तथा बालबालिकालाई प्रर्याप्त मात्रामा पानी खुवाउन अनुरोध गरेका छन् ।
सतर्क रहन आग्रह
यसैबीच मौसम पूर्वानुमान महाशाखाले केही दिनसम्म तातो तथा तातो लहरको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।महाशाखाले गर्मी अत्यधिक बढेकाले अत्यावश्यक काम बाहेक अरु बेला घर बाहिर ननिस्कन आम सर्वसाधारणलाई आग्रह गरेको छ ।गर्मीबाट बच्न शीतलमा बस्न, बेला बेलामा प्रशस्त सर्वत पानी र फलफुलको जुस पिउन विज्ञहरुले सुझाव दिएका छन ।