१२ असार २०८०, मंगलवार
काठमाडौँ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनी भारतको मुम्बईबाट पक्राउ परेका हुन् ।
नेपाल प्रहरी अन्तरगत सीआईबीको टोलीले शर्मालाई भारतको मुम्बईबाट पक्राउ सोमबार नेपाल ल्याइएको जनाइएको छ । उनीविरुद्ध सहकारीको १४ अर्बभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेको छ । पीडितहरुको उजुरीको आधारमा उनीमाथि सीआईबीले अनुसन्धान थालेको हो ।
सहकारी डुबाएर तथा हिनामिना गरेर भागेका शर्मा केही समयदेखि भारतका कानपुर, लखनउ, मुम्बई लगायत विभिन्न शहरमा लुकिछिपी बस्दै आएका थिए । बचतकर्ताहरुले आफ्नो निक्षेप फिर्ता नपाएपछि उनीविरुद्ध सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए ।
भक्तपुरमा रहेको शिव शिखर कृषि सहकारी संस्था र शिखर दीप बहुउद्देश्यीय सहकारी संस्था वि।सं। २०७७ सालमा मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । सो संस्थाका बचतकर्ताहरुले मुद्दति निक्षेपको अवधि पुगेर पनि पैसा फिर्ता नपाएको भन्दै उजुरी बढेको थियो ।
शर्माले मोरङमा पनि तुलसी सहकारी संस्था खोलेको र संस्था डुबेपछि भागेको बताइएको छ । यसबारे मोरङ प्रहरीले समेत अनुसन्धान गरिरहेको छ ।
यी दुवै सहकारीमार्फत् १४ अर्बभन्दा बढी निक्षेप हिनामिना भएको र यसको नाइके उनी नै रहेको अनुसन्धानबाट खुलेको सीआईबीको भनाइ छ । उनीविरुद्ध अहिले भक्तपुर र मोरङमा मुद्दा दायर भइसकेको छ भने अन्य जिल्लामा पनि उनीविरुद्ध अनुसन्धान जारी रहेको छ ।