
ताप्लेजुङ- छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपालतर्फका गाडी पुगेका छन् ।
चीनको तिब्बतसँग जोडिएको टिपताला नाकामा आज एउटा स्काभेटर र ट्याक्टर पुगेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिनुभयो ।
टिपताला पाँच हजार एक सय मिटरको उचाइमा पर्छ । विराटनगरको रानी भन्सार हुँदै टिपताला जोड्ने सडकको ट्याक खोल्ने कार्य यसअघि नै सकिएको थियो । सो सडक निर्माणको ढेक्का पाएको एलाइट जेभी निर्माण सेवाले ओलाङचुङगोलासम्म ट्याक खोल्ने कार्य केही दिनअघि सम्पन्न गरेको थियो । यता टिपतालादेखि ओलाङचुङगोलासम्मको २४ किलोमिटर दूरीको ट्रयाक खोल्ने कार्य केही वर्ष अघि नै सम्पन्न भइसकेको छ ।
