२०८१ असार १९ बुधबार
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने गलत बाटोमा हिँडेको आरोप लगाउनुभएको छ ।
काठमाण्डाैमा चलिरहेको केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्न नपाएको प्रस्तावमा महामन्त्री ढकालले सभापति लामिछानेको आलोचना गर्नुभएको हो । ढकालले प्रस्तावमा भन्नुभएको छ– ‘सभापतिज्यू, झिङ्गासँग उडियो भने फोहोरमा पुगिन्छ । मौरीसँग उड्यो भने महमा पुगिन्छ । मलाई मौरीसँग उड्न मन छ, झिङ्गासँग होइन । हजुर पनि झिङ्गासँग उड्न थालेको हो कि ! त्यस्तो आभास हुन थालेको छ ।’
महामन्त्री ढकाल मुखमा कालो टेप बाँधेर बैठकमा सहभागी हुनुभएको छ । महामन्त्री ढकालले केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गर्नुभएको थियो । सभापति रवि लामिछाने लगायत केन्द्रीय सदस्यले बैठकको प्रत्यक्ष प्रसारण गर्न सहमति नजनाएपछि उहाँ मुखमा कालो टेप लगाएर बैठकमा बस्नुभएको हो ।
यसअघि महामन्त्री ढकालले देशका ३९ वटा जिल्ला घुमेर रास्वपाको अवस्थाबारे प्रतिवेदन तयार गर्नुभएको थियो । सभापति लामिछानेलाई बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा रास्वपाको जनाधार खस्किँदै गएको उल्लेख छ ।
ढकाल मुखमा टेप लगाएर बसेपछि उहाँको राजनीतिक प्रतिवेदन सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको पार्टीका सहप्रवक्ता मनिष झाले जानकारी दिनुभयो । प्रतिवेदनभित्रका कुरा आन्तरिक रूपमा छलफल नभई बाहिर सार्वजनिक गर्न नहुने धारणा केन्द्रीय समितिका सदस्यहरूले राखेपछि महामन्त्री ढकालको प्रतिवेदन ‘लाइभ’ हुन नसकेको पनि झाले बताउनुभयो ।