२०८१ श्रावण ३ गते बिहिबार
दाङ ।तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ ले टोलमै पुगेर सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिकहरुको कार्ड नविकरण गर्न सुरु गरेको छ ।वडाले बिहिबारदेखि बखरीयाको प्राथमिक विद्यालयबाट सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लक्षित वर्गहरुको परिचयपत्र नविकरण गर्ने कार्य सुरु गरेको हो ।
जनप्रतिनिधि सहित वडाका कर्मचारीहरु टोलमै पुगेर सेवा सुचारु गरेपछि स्थानीयहरुले खुशी व्यक्त गरेका छन ।वडाले आफ्नै ठाउँमा आएर सेवा दिएकोमा सोही ठाउँका ८० वर्षिय फिरु चौधरीले खुशी व्यक्त गर्नु भयो ।
‘भत्ता खाने कार्ड नविकरण नगरे भत्ता पाइदैन भन्छन।मलाई साह्रै चिन्ता लागेको थियो ।’चौधरीले भन्नु भयो,‘म जस्तो हिड्न नसक्ने मान्छे वडा पुगेर कसरी कार्ड नविकरण गर्ने होला ।अब त ढुक्क भए वडा कार्यालयले गाउँमै आएर कार्ड नविकरण गरिदियो ।’
जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्त भएका नागरिकहरुलाई वडासम्म पुगेर सेवा लिन असहज हुने भएपछि वडाले टोलमै पुगेर परिचयपत्र नविकरण गर्न सुरु गरेको वडाध्यक्ष मोहनलाल पौडेलले बताउनु भयो ।
‘एक त भौगोलिक हिसाबले १३ नं.वडा विकट छ । त्यसैमा बर्खायामको समयले गर्दा वृद्धवृद्धा र शारीरिक अशक्त भएकाहरुलाई सेवा लिन आउन गाह्रो भयो ।वडासम्म आउदा र फर्किदा नागरिकले कुनै दुःख र कष्ट झेल्न नपरोस् भन्ने मनसायले टोलमै पुगेर सेवा दिन सुरु गरेका हौ वडाध्यक्ष पौडेलले भन्नु भयो,‘यो हिसाबले सेवा प्रदान गर्दा लक्षित वर्गलाई राहत मिल्ने छ ।’
टोलमै पुगेर सेवा सञ्चालन गरेपछि नागरिकहरुलाई राहत मिलेको वडाध्यक्ष पौडेलले बताउनु भयो ।सरकारले कार्ड नविकरण गर्न स्वयंम सम्बन्धित व्यक्ति नै उपस्थित हुनु पर्ने निर्णय गरेपछि यो अभियानले वडासम्म पुग्न नसक्ने लाभग्राहीलाई सहजता भएको उहाँको भनाई छ ।
कार्ड नविकरण गर्ने कार्यमा आफूसहित अन्य जनप्रनिधि र वडाका कर्मचारीहरु खटिएको वडाध्यक्ष पौडेलले बताउनु भयो । कार्ड नविकरण गर्ने कार्यलाई अभियानकै रुपमा अघि बढाईने वडाध्यक्ष पौडेलले बताउनु भयो ।जस अन्तर्गत श्रावण ७ गतेसम्म बखरीयामा,८ गतेदेखि १२ गतेसम्म अम्बेश्वरी मावि अम्बापुर र १३ गतेदेखि १७ गतेसम्म आधारभूत विद्यालय बराहखुटीमा कार्ड नविकरणको कार्य चल्नेछ ।वडामा २६ वटा टोल विकास संस्थाहरु छन ।मूलतः वडाको पूर्वी भेगका गाउँ सिमलखुटी,साझखुटी,पनालीबोट र पश्चिममा ढकना,बखरीयाका नागरिकहरुलाई वडासम्म पुग्न ८ किलोमिटर बाटो हिड्नु पर्ने अवस्था छ । वर्खायाममा एउटै खोलालाई ठाउँ ठाउँमा तुर्न पर्ने बाध्यताले त्यस क्षेत्रका मानिसहरुलाई वडा कार्यालयसम्म पुग्न निकै कठिनाई हुने गरेको छ ।
वडा कार्यालयको तथ्याङ्क अनुसार वडामा जेष्ठ नागरिक,शारीरिक अपङ्गता भएका व्यक्ति र बालबालिका गरी ६ सय ५० जना रहेकोमा १२ जनाको घरबाहिर जानै नसक्ने अवस्था छ ।
यो वर्षदेखि घरमै पुगेर सुरक्षाभत्ता वितरण गरिने
यसैबिच वडा कार्यालयले यो आर्थिक वर्षदेखि घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने भएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्तता भएकाहरुको अवस्थालाई मध्य नजर गर्दै यो वर्षदेखि घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने वडाध्यक्ष पौडेलले बताउनु भयो ।नागरिकको दुःख मा वडा सरकार छ भन्ने अनुभूति गराउन वडाले यस्तो योजना ल्याएको उहाँको भनाई छ ।बैंकसंगको समन्वयमा यो कार्यलाई पनि अभियानकै रुपमा अघि बढाईने वडाध्यक्ष पौडेलले बताउनु भयो ।