२०८१ श्रावण ३ गते बिहिबार
दाङ—देउखुरीमा भिरबाट लडेर आज बिहिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका— ६ वस्ने अन्दाजी ६० वर्षका बुद्धिराम चौधरी रहेको प्रहरीले जनाएको छ । बुद्धिराम सोही ठाउँ निवासी टंकलाल चौधरीको घरमा लामो समयदेखि काम गर्दै आएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनु भयो ।
राजपुर गाउँदेखि करिब एक घन्टाको दुरीमा रहेको बुकी लेखमा बाख्रा चराउन गएका उनको हराएका बाख्रा खोज्ने क्रममा भिरबाट खसेर ज्यान गएको हो ।बुद्धिराम करिब पचास मिटर अग्लो भिरबाट लडेका थिए ।टंकलालको घरमा गाई बाख्रा चराउने काम गर्दै आएका उनको वास्तविक घर ठेगाना कहाँ हो भन्ने कुरा यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
घटना भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्की सहितको प्रहरी टोली घटनास्थल पुगी भिरबाट लडेर ज्यान गुमाएका चौधरीको शवलाई झिकेको थियो ।अहिले चौधरीको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।