
काठमाडौँ – महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि आगामी नोभेम्बर ५ तारिखका दिन चुनाव हुँदैछ । अर्थात् चुनाव हुन ४२ दिन मात्र बाँकी छ तर राष्ट्रपतिका मुख्य दुई उम्मेदवारमध्ये कसले बाजी मार्छ भन्ने अझै एकिन भइ नसकेको अमेरिकी चुनावी मतसर्वेक्षणहरूले देखाइरहेका छन् ।
यस पटकको चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस मुख्य प्रतिस्पर्धी रहनुभएको छ । दुवै उम्मेदवारले एकअर्का विरूद्ध तिक्ततापूर्ण गालीगलौज गरिरहेका भएपनि आम अमेरिकी नागरिकले भने उहाँहरूले अघि सारेका आर्थिक, सामाजिक, राजनीतिक जस्ता घरेलु मामिलाका विषयसँगै विदेश नीतिका बारेमा उहाँहरूका अडानलाई समीक्षा गरिरहेको बताइएको छ ।
एकातिर अमेरिकाको सर्वोच्च नेतृत्वमा कमला ह्यारिसको रूपमा पहिलो महिला र त्यो पनि एसियन–अफ्रिकन मूलकी महिलालाई चुन्ने अवसर प्राप्त भएको छ । ह्यारिसले चुनाव जिते यो अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ । तर ह्यारिसलाई चुनावमा सहज जित निकाल्न भने त्यति सहज छैन ।
सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा त्यसबेला निकै लोकप्रिय उम्मेदवार हिलारी क्लिन्टन ट्रम्पसँगै पराजित हुनुभएको थियो । अमेरिकी समाज चरम पितृसत्तात्मक र दक्षिणपन्थी–अनुदारवादी छ भन्ने त्यसबेला चर्चामा थियो । तर यसपटक महिलालाई शीर्ष नेतृत्वमा स्थापित गराउन अमेरिकी समाज सहजै तयार होला रु अझै द्विविधा कायम रहेको धारणा चुनावी सर्वेक्षणले देखाएका छन् ।
पछिल्लो पटक फाइभ थर्टी एटले सार्वजनिक गरेको विवरणमा ह्यारिसले ४८ प्रतिशत र ट्रम्पले ४६ प्रतिशत मत पाउने आकलन गरिएको छ । अर्थात दुई उम्मेदवारबीच २ प्रतिशतको मात्र अन्तर छ ।
गत सेप्टेम्बर १० मा पेन्सिलभेनियामा भएको बहसपछि कमला ह्यारिसले आफ्नो पक्ष निकै मजबूत बनाएको मानिए पनि मतदाताले दुवै उम्मेदवारप्रति खासै धेरै खुलेर समर्थन गरेका छैनन् । राष्ट्रव्यापी मतसर्वेक्षणमा दुई उम्मेदवार अघिपछि देखिए पनि राष्ट्रपतिको चयन भने इलेक्टोरल कलेजका आधारमा हुने गर्दछ । पपुलर मत धेरै ल्याएर मात्र पुग्दैन ।
अमेरिकी राष्ट्रपतिका लागि कूल ५३८ इलेक्टोरल कलेजमध्ये कम्तीमा २७० स्थान जित्नु पर्दछ । अमेरिकाका ५० वटा राज्यबाट जनसङ्ख्याका आधारमा इलेक्टोरल कलेजको सङ्ख्या निर्धारण हुने गर्दछ । यही कारण धेरै जनसङ्ख्या र इलेक्टोरल कलेज रहेका राज्यहरूमा दुवै उम्मेदवारले प्रचारका कार्यलाई तीव्र बनाएका छन् ।
कमनवेल्थ फाउन्डेसनका प्रमुख कार्यकारी एन्ड्रु लेविसले न्यूजविकमा लेखेका छन्, “केही वर्षदेखि पेन्सिलभेनियामा जीवन धान्ने खर्च नियन्त्रण बाहिर पुगेको छ । हरेक सामग्रीको मूल्य तीव्र गतिमा बढेको छ । आफूले रोजेजस्तो घर किन्न सक्ने अवस्था छैन । तलब, ज्याला बढे पनि दैनिक जीवन गुजाराका लागि अत्यावश्यक खाद्यान्न समेतका सामग्रीको मूल्य अकासिएको छ ।”
ह्यारिसले भने पेन्सिलभेनियाका चुनावी सभाहरूमा सम्बोधन गर्दै इन्धन समेतका वस्तुको मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याउने र आम सर्वसाधारणको जीवनलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तर यी प्रतिबद्धतामा खासै विश्वस्त हुन सकिने अवस्था नदेखिएको लेविसको भनाइ छ । अर्थात् यही प्रवृत्ति अधिकांश राज्यहरूमा छ । यद्यपि, बढ्दो मुद्रास्फीतिलाई नियन्त्रणमा ल्याउन ट्रम्पलाई पनि फलामको च्यूरा चपाएसरह रहेको लेविसको धारणा छ ।
केही वर्षदेखि अमेरिकी चुनाव वर्ग, क्षेत्र, लिङ्ग, ल्याटिनो, आप्रवासन जस्ता अनेक मुद्दाबाट विभाजित हुन थालेकाले रैथाने अमेरिकीहरूको दृष्टिकोण र धारणाले चुनावी परिणामलाई प्रभावित तुल्याउन थालेको धेरैको बुझाइ छ ।