सोमबार, कात्तिक २६, २०८१
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरिया स्थित बबई नदीमा तटबन्ध निर्माण कार्य सुरु गरिएको छ।कटानको उच्च जोखिममा रहेको बखरिया बस्तीलाई जोगाउन तटबन्ध निर्माणको काम सुरु गरिएको हो ।
हरेक वर्ष बर्षातको समयमा आउने बबई नदीको बाढीले त्यस भेगमा क्षति पुर्याउदै आएको छ।सोमबार तटबन्ध निर्माणको शिलान्यास तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ का वडाध्यक्ष मोहन पौडेलले गरेका छन। मूलतःबबई नदीको बाढीले बखरियाबासीलाई सताउने गरेको छ। बखरियाका नागरिकको बस्ती जोगाउन र सम्भावित कटानलाई नियन्त्रण गर्न बबई नदीमा तटबन्धनको निर्माण कार्य अघि बढाईएको अध्यक्ष पौडेलले बताए।
२ करोड ५६ लाख बजेटमा तटबन्ध निर्मार्णको काम अघि बढाईएको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दाङका प्राबिधिक प्रमुख श्रीध्वज अधिकारीले जानकारी दिए ।तटबन्ध निर्माणको जिम्मा भने जेभी एड्भेन्चर निर्माण सेवा भक्तपुरले लिएको छ।
निर्माण कम्पनीले करिब १८ महिनामा तटबन्ध निर्माणको काम सक्ने जनाएको छ ।तुलसीपुर उपमहानगरपालिकाका दुई वडा १३ र १२ नम्बरको भेगलाई समेटेर तटबन्धको निर्माण हुने वडाध्यक्ष पौडेलले बताए।जसअन्तर्गत वडा नं.१३ बखरियाको भेगमा ४ सय ८० र वडा नंं.१२ को कचिला भेगमा १ सय ८० मिटरको तटबन्ध निर्माण हुनेछ।करिब एक सय घरधुरी रहेको बखरिया बर्षेनि बर्षायाममा बबई नदीमा आउने बाढीका कारण चपेटामा पर्दै आइरहको छ।