११ मंसिर २०८१,मंगलबार
दाङ।आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियानका सञ्चालनका लागि कार्यदल गठन गरिएको छ ।इलाका प्रहरी कार्यालय फूलबारीको आयोजनामा मंगलबार तुलसीपुर १३ मजघटुवामा सम्पन्न सरोकारवालहरुको अन्तरक्रिया कार्यक्रमले आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान कार्यदल गठन गरेको हो ।फूलबारी स्वास्थ्य चौकी प्रमुख ज्ञान बहादुर डाँगीको संयोजकत्वमा ९ सदस्यीय आत्महत्या नयूनिकरण तथा व्यवस्थापन अभियानको कार्यदल गठन भएको हो ।
कार्यदलको सहसंयोजकमा फूलबारी स्वास्थ्य चौकीका सहायक जनस्वास्थ्य निरीक्षक नन्दा गुरुङ,सदस्यहरुमा बस्नेत क्लिनिकका लोकेन्द्र बस्नेत,जनज्योति मा.वि.का प्र.अ.हेमन्त बहादुर बुढाथोकी,सामाजिक अभियान्ता देवीराम कुसारी,पुर्नस्थापना केन्द्र दाङका सल्लाहकार खेमराज खड्का,आमा समूह फूलबारीका अध्यक्ष उषा खड्का नेपाल रेडक्रस सोसाइटी जूनियर यूवा क्लबका शिक्षक नायक मधु नेपाली र इलाका प्रहरी कार्यालय फूलबारीका प्रहरी सहायक निरीक्षक हुम बहादुर केसी रहेका छन।
गठित कार्यदलले एक महिना अवधिभर तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ मा आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धि अन्तरक्रिया र सचेतना कार्यक्रम गर्ने छ ।कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ का वडाध्यक्ष मोहन पौडेलले बढ्दो आत्महत्या न्यूनिकरणका लागि वडा स्तरमा सचेतना सहितको सामाजिक शिक्षालाई अघि बढाउनु पर्नेमा जोड दिए।अध्यक्ष पौडेलले मानिसले विविध कारणले आत्महत्या बाटो रोज्ने गरेको बताउदै त्यसलाई न्यूनिकरण गर्न सञ्चालन गरिने कार्यक्रमका लागि वडा सरकारले आर्थिक रुपमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।
फूलबारी स्वास्थ्य चौकीका प्रमुख ज्ञान बहादुर डाँगीले भावना,आवेग र संवेगमा मानिसले आत्महत्या गर्ने गरेको बताउँदै सामाजिक अभियान मार्फत यसलाई न्यूनिकरण गर्न तर्फ सबै सरोकारवालाहरु अभियानमा जोडिनु पर्ने बताए ।इलाका प्रहरी कार्यालय फूलबारीका प्रहरी प्रमुख हुम बहादुर केसी र अस्थायी प्रहरी पोष्ट दमार गाउँका प्रमुख आनन्द हितानले अभियानमा साथ दिन सबैलाई आग्रह गरे ।कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी जूनियर यूवा क्लबका शिक्षक नायक मधु नेपालीले गरेका थिए ।