
नेपालगञ्ज । बाँकेको कोहलपुरमा यातायातको सेवा कार्यालय स्थापना गरिएको छ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार गर्ने निर्णय गरे अनुसार आज सेवा कार्यालयको उद्घाटन गरिएको हो । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले कोहलपुरमा यातायात सेवा कार्यालयको उद्घाटन गरे ।
कार्यालयको उद्घाटन गर्दै मन्त्री न्यौपानेले नागरिकलाई यातायात सम्बन्धि सेवा सहजरुपमा प्रदान गर्नका लागि यातायात सेवा कार्यालय विस्तार गरिएको बताए । उनले आवश्यकताका आधारमा अन्य जिल्ला तथा स्थानहरूमा समेत यातायात कार्यालय विस्तारको योजना बनाइने समेत बताए । ‘मुलुक संघियतामा गइसकेपछि राज्यका हरेक संयन्त्र वा शक्ति विकेन्द्रीकरण हुनुपर्छ भन्ने मान्यतामा हामी प्रतिबद्ध छौँ,’ मन्त्री न्यौपानेले भने ‘यही मर्म अनुरूप यातायात सम्बन्धि सेवालाई हरेक नागरिकको पहुँचसँग जोड्नुपर्छ भन्ने उद्देश्यसहित यातायात कार्यालयहरूको विस्तार गर्न जरुरी देखेका छौँ, र यो उद्देश्य पूरा गर्नका लागि मन्त्रालय लागिपरेको छ।’
लुम्विनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री दुर्गा प्रसाद चौधरीले कोहलपुरमा यातायातको शाखा कार्यालय स्थापना भएसँगै कोहलपुरसहित छिमेकी बैजनाथ र राप्तीसोनारीका सेवाग्राहीहरुलाई फाइदा पुगेको बताए । अर्का प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री कृष्णा केसी नमुनाले पनि कोहलपुरमा सरकारी कार्यालयको विस्तार आवश्यक रहेको बताइन् । नमुनाले एकात्मक प्रणालीबाट मुलुक संघीयतामा गइसकेकाले सेवाहरुलाई पनि विकेन्द्रीकरण गर्दै लैजानु अहिलेको आवश्यकता रहेको बताइन् । प्रदेशसभा सदस्य सञ्जुकुमारी थारुले यातायात कार्यालयको शाखा स्थापना भएसँगै कोहलपुरमा विकासको अर्को इट्टा थपिएको बताइन् । लुम्बिनी प्रदेशसभा सदस्य बसन्ती अधिकारीले सहकार्य र अठोटको कारणले आजको उपलब्धि सम्भव भएको बताउँदै यो कार्यालयले बाँकेको समग्र विकासलाई टेवा पु¥याउने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कार्यालय स्थापनाको लागि नागरिक, सरोकारवाला र राजनीतिक दलहरूको सहकार्यले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, “कोहलपुरलाई केन्द्र बनाएर यस क्षेत्रको विकासका लागि थप कदम चाल्नेछौँ । यातायात कार्यालयको स्थापनाले कोहलपुरका नागरिकको दैनिकी सहज बनाउनेछ ।” नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालयको शाखा कोहलपुर नगरपालिका–११ स्थित पुरानो बसपार्कको भवनमा स्थापना गरिएको हो ।
कार्यालयले ब्लु बुक, लाइसेन्स नवीकरण, र पटके सेवा प्रदान गर्नेछ । कम्प्युटर अधिकृत सतिशजंग शाहका अनुसार हाल तीन जना कर्मचारीले सेवा सञ्चालन गर्दैछन् । भविष्यमा सेवाको चाप अनुसार कर्मचारी संख्या वृद्धि गरिनेछ । स्थानीय बासिन्दाहरू कार्यालय स्थापनाप्रति उत्साहित देखिएका छन् । कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार भएपछि कोहलपुर तथा त्यस आसपासका क्षेत्रका सेवाग्राहीलाई यातायात सम्बन्धि सेवा लिन सहज हुने भएको छ ।