भारतर्फको बिजुली निर्यात एक अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको बिजुली गएकाे जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । त्यसपछि आज मङ्गलवारसम्म अर्थात् असाेज २५ गतेसम्ममा एक अर्ब ३० लाख युनिट बिजुली निर्यात भएको हो ।
देशभित्र खपत गरी बाँकी भएको बिजुली भारततर्फ निर्यात गरी यस अवधिमा सात अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । ‘विद्युत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रा लागि अर्को कोशेढुङ्गा हो’, उहाँले भन्नुभयो । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य सात रुपैयाँ ९१ पैसा रहेको छ ।
सुरुमा दुई वटा विद्युत् गृहको ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिकरूफमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि जेठ २७ गतेदेखि ६ वटा जलविद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरूपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।
भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकाले यस अवधिमा बिजुली बिक्रीबाट चार अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई देशबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा बिजुली निर्यातबाट झन्डै १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।
आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट सात रुपैयाँ ९१ पैसा रहेको छ ।