विश्व बैंकले नेपाल श्रीलङ्का जस्तो नहुने स्पष्ट पारेको छ । सोमबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले नेपाल र श्रीलङ्का दाँज्न नमिल्ने भन्दै नेपाल कुनै पनि हालतमा श्रीलङ्का नहुने स्पष्ट पारेको हो ।
पछिल्लो समय नेपाल श्रीलङ्का जस्तो हुन लागेको अर्थशास्त्रीहरूले बताउँदै आएकोले विश्व बैंकले नेपालको श्रीलङ्काजस्तो ऋणको भार नभएको भन्दै दुई देशबिच तुलना गर्न नमिल्ने जनाएको हो ।
नेपालको सार्वजनिक ऋण जम्मा ४१.१ प्रतिशत मात्र रहेको तर श्रीलङ्काको ऋण शतप्रतिशत रहेको जनाउँदै विश्व बैंकले पछिल्लो समय अर्थतन्त्र सकारात्मक दिशामा उन्मुख रहेको समेत दाबी गरेको छ ।
विश्व बैंककी वरिष्ठ अर्थशास्त्री एलिस जे ब्रक्सले पटक पटक नेपालको अवस्था श्रीलङ्का जस्तो नहुने दोहोर्याएकी थिइन् । त्यस्तै विश्व बैंकका नेपाल, श्रीलङ्का र माल्दिभ्समा कन्ट्री डिरेन्टर फारिस हाजाद जेर्भोसले पनि नेपाल श्रीलङ्का जस्तो नहुनेमा ढुक्क रहन आग्रह गरेका थिए ।
पछिल्लो समय सरकारले लिएको नीतिगत निर्णयले नेपालको आर्थिक अवस्था बिस्तारै सुध्रिँदै गएको बताउँदै अर्थशास्त्री ब्रक्सले रसिया र युक्रेन युद्धको असर नेपालमा पनि परेको र आयातमा भएको वृद्धिका कारण भुक्तानी सन्तुलनमा दबाब परेको भए पनि पछिल्लो समयमा भुक्तानी सन्तुलनमा भएको तनाव र आयातबिचको दुरी कम हुँदै गएको, साथै विदेशी मुद्रा संचितिको दबाब पनि केही कम हुँदै गएको हुँदा देशको अर्थतन्त्र ठिक गतिमा हिँडेको बताइन् ।