अरुण कुमार नेपाली दाङ् २०७९ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरुले प्रचार प्रसारलाई तीब्र बनाएका छन् । मत आफ्नो पक्षमा पार्न उनीहरु दिनहुँ घरदैलो,कार्यकर्ता भेटघाट लगायतका कार्यक्रममा व्यस्त छन् । राजनितिक दलको तर्फबाट उम्ेमदवारी दिएका मात्र होईन स्वतन्त्र उम्मेदवारी दिएका पनि प्रतिस्पर्धामा उत्रिएका छन् । तर मतदाताको रोजाईमा को पर्छन भन्ने बिषयमा भने एकिन गर्न कठिन छ । निर्वाचनमा कस्ले बाजी मार्ला ? भन्ने बिषयमा विभिन्न अटकल बाजी भैरहदा दाङ् क्षेत्र नं. ३ (क) बाट प्रदेशसभा निर्वाचनमा वाम —लोकतान्त्रिक गठबन्धनबाट निर्वाचनमा होमिएका नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरी र नेकपा एमालेका घनश्याम पाण्डेको प्रतिस्पर्धाले यस क्षेत्रको चुनावी माहोल थप रोचक बनेको छ । चौधरी लुम्बिनी प्रदेशको बहालवाला मन्त्री हुन,उनी अहिले लुम्बिनी प्रदेशको पर्यटन,ग्रामिण तथा शहकारी विकास मन्त्री हुन भने पाण्डे तुलसीपुर उपमहानगरपालिकाका पूर्व मेयर हुन ।२०७४ सालको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका उनले तत्कालीन वाम —गठबन्धनका उम्मेदवार(एकिकृत नेकपा माओबादी केन्द्र) का उम्मेदवार जगत प्रसाद शर्मालाई २ हजार ३ सय ३६ मतले पराजित गरेका थिय । वाम गठबन्धलाई हराएर चर्चामा आएका चौधरी आगामी मंसिर ४ गते हुने प्रदेशसभाको निर्वाचनमा पुन होमिएका छन् । यस पटक उनका प्रतिस्पर्धी हुन् नेकपा एमाले केन्द्रिय सदस्य एंव तुलसीपुर उपमहानगरपालिकाका पूर्व मेयर घनश्याम पाण्डे । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई ४ हजार ७ सय ६४ मतले पराजित गदै पाण्डे तुलसीपुर उपमहानगरपालिकाको मेयर बनेका थिए । नगर प्रमुखको जिम्मेवारी सम्हालिसकेका पाण्डे यस पटक नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेशको प्रस्तावित मुख्य मन्त्रीको रुपमा निर्वाचनमा होमिएका छन । दाङ् क्षेत्र नं.३ अहिले चुनावी माहोलले तातिरहँदा चौधरीले बाजी मार्छन् वा पाण्डेले भन्नेमा बढी रोचक बनेको छ । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार चौधरी अहिले वाम—लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका हुन् भने पाण्डे नेकपा एमालेका उम्मेदवार हुन् । कडा प्रतिस्पर्धा रहेको यस क्षेत्रमा दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चि भएको दाबी गर्दै आईरहेका छन् । दुवै उम्मेदवारले यस क्षेत्रको समृद्धिलाई मुख्य एजेण्डा बनाएका छन् । चौधरीले गठबन्धन,विगतको चुनावी नतिजालाई चुनाव जित्ने मुख्य आधार मानेका छन् । उनले दाङ्को विकासमा कांग्रेसले असाधरण भूमिका निभाएको दाबी गर्दै यस पटकको निर्वाचन पनि आफूले नै जित्ने बताउदै आएका छन् ।अहिलेको गठबन्धन संविधान र लोकतन्त्र रक्षाको लागी बनेको बताउदै उनले गठबन्धनमा कुनै तलमाथि नहुने चौधरीको भनाई छ । त्यस्तै अर्का उम्मेद्वार घनश्याम पाण्डेले आफू नगर प्रमुख हुँदा तुलसीपुरमा दीर्घकालीन महत्व राख्ने विकास काम गरेकाले यस पटकको निर्वाचनमा जनताले आफूलाई मतदान गरी विजयी बनाउने बताउदै आएका छन् । उनले सत्ता गठबन्धन देश र जनताको हितमा नभएकाले निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने दाबी गर्दै आएका छन् । अहिले जनताको रोजाइमा नेकपा एमाले भएको बताउदै उनले निर्वाचन आफू विजयी हुने बताए । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा अनुरसार क्षेत्र नं ३(क) अन्तर्गत नेकपा एमालेले ५ वडा सहित तुलसीपुर उपमहानगरपालिकामा नगर प्रमुख र उप—प्रमुखमा विजयी हाँसील गरेको छ भने गठबन्धनबाट नेपाली कांग्रेस ४ र नेकपा माओबादी केन्द्र २ वडामा विजयी भएका छन् ।विगतका चुनावी नतिजामा मतान्तर धेरै फरक नभएकाले पनि दुवै उम्मेदवारलाई चुनाव जित्न निकै कठिनाई हुने सम्बन्धित दलका नेता कार्यकर्ता र आम मतदाताको बुझाई छ ।