अरुण कुमार नेपाली
एमालेकी दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार कोमल वलीले बालबालिका सङ्ग भोट मागेको
समाचार बारे खण्डन गरेकी छिन । आज एक स्कुलमा गएको र विद्यार्थीसँग मत मागेको भनेर समाचार
सन्चारमाध्यममा आएको थियो । उनले आफूले विद्यार्थीसँग मत नमागेको भए पनि तथ्यलाई बंग्याएर प्रचारप्रसार
गरिएको भन्दै यसमा आपत्ति समेत जनाएकी छिन् ।
दाङको बबई गाउँपालिका १ गँगटेको सरस्वती जनता माविका विद्यार्थीहरुसँग कोमल वली सँगै भएको तस्वीर
सार्वजनिक गर्दै उनले विद्यार्थीसँग मत मागेका समाचार प्रकाशन भएपछि उनले यसलाई गलत प्रचारप्रसार भएको
बताएकी हुन् । यसबारेमा नयाँ सरोकार संग कुरा गर्दै वली भन्छिन: विद्यार्थी भाइबहिनीसँग चुनावी प्रचारका कार्यक्रम गर्नुहुँदैन भन्नेमा म सचेत
छु,’ ‘त्यो क्षेत्रमा घरदैलोमा जाँदा स्कुल बाहिर जम्मा भएका विद्यार्थीहरुलाई मैले एउटा गीत सुनाएकी
चाहिँ हुँ । तर, यो उनीहरुकै अनुरोधमा थियो ।’
आफ्नो प्रतिबद्धतामा समेत दाङका विद्यालयको स्तरोन्नती गर्ने तथा स्कुले बालबालिकाका समस्या समाधानमा
पहल गर्ने उल्लेख गरेको बताउँदै वलीले त्यो स्कुलको अवस्था बुझ्न चाहेको पनि बताएकी छिन् । ‘स्कुलको अवस्था
बुझ्न मन थियो, तर चुनावी अभियानमा त्यसरी स्कुलभित्र जाँदा ठिक नहोला भनेर मैले बाहिर जम्मा भएका
विद्यार्थीहरुको जिज्ञासा चाहिँ समाधान गरेकी हुँ,’ वलीले भनिन्, ‘त्यो कुनै राजनीतिक अभिप्रायको कार्यक्रम थिएन,
कोमल वलीसँग भाइबहिनीहरुले गायिका भनेर एकछिन भलाकुसारी गरेका हुन् ।’