दाङ् । २८ कात्तिक २०७९,सोमबार
जिल्ला प्रशासन कार्यालय दाङले तीन दिनसम्म सार्वजनिक सवारी साधनमा रोक लगाएको छ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा तीन दिनसम्म सार्वजनिक सवारी साधनमा रोक लगाएको हो । हरेक दिन साँझ ६ बजेदेखि अर्को दिन विहान ६ बजेसम्म सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । प्रशासनले सोमबार सूचना जारी गर्दै निर्वाचन सुरक्षालाई ध्यानमा राखी मंसिर १ गतेदेखि ३ गतेसम्म रातीको समयमा सार्वजनिक यातायात आवागमनमा रोक लगाइएको हो ।
निर्वाचनको दिन भने निर्वाचन आयोगबाट जारी भएको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९ बमोजिम हुने प्रशासनले जनाएको छ । उक्त अवधिमा अत्यावश्यक सेवाका सवारी साधन स्वास्थ्य, विद्युत, कृषि, दुग्घ, माछा, मासु, इन्धन र टेलिकम लगायतका सवारी साधन चल्न पाउने छन् ।त्यस्तै भिआइपी, सवारी पास अनुमति लिएका उम्मेदवारहरुका लागि तोकिएका लामो तथा छोटो दुरीका सवारी साधन, सरकारी सेवाका सवारी साधनहरु, कर्मचारी परिचयपत्र सवारी साधनहरु, निर्वाचनमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक र अनुगमन टोली, सञ्चारकर्मी, निर्माण कार्यमा संलग्न, सवारी साधन र नजिकको सुरक्षा निकायबाट पूर्व स्वीकृती लिएका र पूर्व जानकारी गराइएका, सवारी साधनहरु जिल्ला भित्र र बाहिर समेत चल्न पाउने छन् ।