अहिलेसम्म संघीय सरकार कस्ले बनाउने र कस्को बन्ने भन्ने स्पष्ट नभइसकेकोले प्रदेश सरकार निर्माणमा पनि अलमल देखिएको छ । केन्द्रमा सत्ता गठबन्धनले अहिलेसम्म प्राप्त गरेको सिट संख्या र समानुपातिकमा प्राप्त गरेको मतको आधारमा सत्ता गठबन्धनले सरकार बनाउने देखिन्छ ।नेपाली कांग्रेसमा गगन थापा, शेखर कोइराला, शशांक कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंहले प्रधानमन्त्रीमा दाबी गरिरहे पनि अहिले कांग्रेसबाट प्रतिनिधि सभातर्फको निर्वाचित सांसदको संख्या हेर्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिनसक्ने चर्चामा रहेका कुनै पनि अनुहार देखिँदैन ।
अझ कुनै एक दलको स्पष्ट बहुमत नभएका कारण गठबन्धनको सरकार निर्माणका लागि अन्य दलको पनि समर्थन लिनुपर्नेमा अहिलेको प्रधानमन्त्रीको दौडमा प्रधानमन्त्री देउवाको विकल्पमा गठबन्धन दलले कांग्रेसबाट अरु कोहीलाई समर्थन नगर्ने अनुमान गर्न सकिन्छ । अझ प्रदेशका मुख्यमन्त्रीको आकांक्षी धेरै तथा गठबन्धनका कारण पनि कुन प्रदेशमा को मुख्यमन्त्री बन्छ भन्न गाह्रो छ ।
लुम्बिनी सरकारमा अहिले दलहरुले प्राप्त गरेको सिट हेर्दा यहाँ सत्ता र विपक्षी गठबन्धन दुवैलाई सरकार बनाउन पुग्ने बहुमत देखिँदैन । त्यति मात्र होइन यहाँ सरकार बनाउनका लागि दुवै गठबन्धनका लागि अहिले भएका गठबन्धन दल बाहेक अरु दलको पनि सहयोग लिनुपर्ने देखिन्छ । यसकारण पनि यहाँ मिलिजुली सरकारको सम्भावना अत्यधिक देखिन्छ ।
प्रत्यक्षमा ५२ तथा समानुपातिक ३५ गरी कुल ८७ सिट रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । यहाँ कांग्रेसले प्रत्यक्षमा १७ तथा समानुपातिकमा १० गरी कुल २७ सिट प्राप्त गरेको छ । बहुमतका लागि अझै १७ सिट आवश्यक पर्ने हुँदा सत्ता गठबन्धनका अरु घटक जुटाउँदा पनि त्यति सिट पुग्ने देखिन्न ।
सत्ता गठबन्धनको घटक लोसपाले यहाँ प्रत्यक्षमा २ तथा समानुपातिकमा १ गरी कुल ३ सिट प्राप्त गरेको छ । अहिलेलाई सत्ता गठबन्धनमा सामेल हुने कुरामा सहमति जनाएको जनमत पार्टीको पनि यहाँ प्रत्यक्षमा १ तथा समानुपातिकमा २ गरी कुल ३ सिट छ । भने एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समानुपातिकमा १/१ सिट छ । यो सबै जोड्दा पनि केवल ३५ सिट मात्र हुन आउने हुँदा यहाँ सरकार बनाउनका लागि सबै साना दललाई समेट्नुपर्ने देखिन्छ ।
विपक्षी गठबन्धनको कुरा गर्दा यहाँ एमालेको प्रत्यक्षमा १८ तथा समानुपातिकमा ११ गरी कुल २९ सिट छ । त्यस्तै जसपाको प्रत्यक्षमा २ तथा समानुपातिकमा १ गरी कुल ३, नागरिक उन्मुक्ति पार्टीको प्रत्यक्ष तथा समानुपातिकमा समान २/२ गरी ४ र राप्रापाको पनि प्रत्यक्ष तथा समानुपातिकमा समान २/२ गरी ४ सिट नै छ । यसरी हेर्दा विपक्षी गठबन्धनका लागि पनि अरु दललाई समेट्नु पर्ने देखिन्छ । धेरै साना दललाई समेट्नु पर्ने कारण यहाँ कांग्रेस र एमाले मिलेर सरकार बनाउने विकल्प पनि नकार्न सकिँदैन ।
लुम्बिनीमा छनौट हुनुपर्ने २९ महिलामध्ये १ जना मात्र प्रत्यक्षमा निर्वाचित भएको हुँदा बाँकी २८ भने समानुपातिकबाट चयन गर्नुपर्ने हुन्छ ।