बेनीमा आगामी पुस २८ देखि माघ ७ गतेसम्म सातौ म्याग्दी महोत्सव हुने भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा महोत्सवका साथै गण्डकी प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला २०७९ सञ्चालन गर्न लागिएको हो ।
३९ वटा उपसमिति गठन गरेर महोत्सवको तयारी तीव्र बनाएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । ‘हरेक तीन/तीन वर्षमा हुँदै आएको महोत्सव २०७७ र २०७८ मा कोरोना महामारीका कारण हुन सकेन, ‘उनले भने, ‘२०७४ पछि यसपाली महोत्सव गर्न लागेका छौं ।’
स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र व्यापारिक ज्ञान सीप, पुजी र प्रविधि भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष कटुवालले बताए ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय स्थलको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनमा मद्दत गर्नुका साथै रोजगारीको सृजना गर्दै अर्थोपार्जनमा सघाउन पुर्याउने, खेलकुद र शिक्षा क्षेत्रको बारेमा जागृत गर्ने, लुकेर रहेका प्रतिभाको पहिचानका लागि अवसर सिर्जना गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करिब दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । दुई हजार, पाँच सय र एक सय रुपैयाँ दरका टिकट बिक्री गरिनेछ ।
१०० दरको टिकट बिक्रीबाट हुने आम्दानी मध्य व्यवसायिक हितकोषमा १०, नेपाल पत्रकार महासंघ, योग साधना हल, बसपार्क तथा बजार सरसफाई र बाल संगठनका लागि १/१ रुपैयाँ उपलब्ध गराउने संघले जनाएको छ ।
बेनीको खुल्ला मञ्चमा महोत्सवमा २५८ वटा व्यवसायिक स्टल रहनेछन् । ५० वटा स्टल बुक भइसकेका छन् । पालिकाहरुको सिफारिसमा स्थानीय उत्पादनका स्टललाई निशूल्क र म्याग्दीका हस्तकला व्यवसायीलाई ५० प्रतिशत छुट दिइने म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताए ।
‘हेलिकोप्टरबाट धौलागिरि आधार शिविरलगायत पर्यटकीय स्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ, ‘उनले भने, ‘कालीगण्डकीमा र्याफ्टिङ र बेनीदेखि लभ्लिहिलसम्म घोडा सफारी पनि महोत्सवमा आकर्षणका रुपमा रहनेछन् ।’
महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्यौली, एकल र खुल्ला नृत्य प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने भएको छ । बाल उद्यान, मिनी चिडियाघर, छेलो, अन्ध निशान, झाँकी र भेषभुषाको प्रर्दशनी हुनेछ ।
एक करोड २४ लाख ८७ हजार रुपैयाँ आम्दानी, एक करोड १५ लाख ७७ हजार २११ रुपैयाँ खर्च र नौ लाख नौ हजार ७८९ रुपैयाँ बचत हुने अनुमान गरिएको छ । यसअघि २०६०, २०६३, २०६५, २०६८, २०७१ र २०७४ मा म्याग्दी महोत्सव आयोजना गरिएको थियो ।
म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको आयोजानामा २०५८, २०५९, २०६२, २०६४, २०६६, २०६७, २०६८, २०७०, २०७२ र २०७३ मा माघे संक्रान्ति मेला सञ्चालन भएको थियो ।
माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा परम्परागत रुपमा मेला लाग्ने चलन थियो । किनमेल र मनोरञ्जनका लागि परम्परागत शैलीमा हुदै आएको मेलालाई व्यवस्थित गर्दै पछिल्लो दुई दशक यता महोत्सवमा रुपान्तरण गरिएको हो ।