२९ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमका क्याबिन क्रु आन्दोलित भएका छन् ।दुई जना एयर होस्टेसको करार नवीकरण नभएको विषयलाई लिएर क्याबिन क्रु आन्दोलनमा उत्रिएका हुन् ।
निगम मातहतका नेपाल वायुसेवा क्याविन क्रु संघले बिहीबार एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएको छ । निगम स्रोतका अनुसार बिहीबार क्याबिन क्रुले निगम मुख्यालयमा आन्दोलन गर्दा धकेलाधकेलको समेत अवस्था आएको थियो ।निगममा हरेक ५ वर्षमा क्याबिन क्रुको करार नवीकरण हुन्छ । यसक्रममा दुई जना एयर होस्टेसको तोकिएको योग्यता नपुगेको भन्दै करार नवीकरण गर्न व्यवस्थापनले नमानेपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुको आन्दोलनका कारण बुधबार र बिहीबारका अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् ।
निगम स्रोतका अनुसार बुधबार काठमाडौंबाट दोहा र दुबई उड्नु पर्ने जहाजहरु तीन घण्टा डिले गरी उडेका थिए । बिहीबार काठमाडौंबाट साउदीको रियाद र भारतको नयाँ दिल्ली उड्नु पर्ने जहाजहरु समेत क्रुको आन्दोलनका कारण प्रभावित बनेका छन् ।