बागमती प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम पुस दोस्रो साता हुने भएको छ । निर्वाचन आयोगले प्रदेशसभा सदस्यको नामावली प्रदेश प्रमुखलाई पुस २ गते हस्तान्तरण गरेसँगै प्रदेशसभा सचिवालयले सांसदहरुको शपथ ग्रहणको तयारी सुरु गरेको हो ।
सचिवालयका सचिव कृष्णहरी खड्काका अनुसार प्रदेशसभामा सभामुख र उपसभामुखको निर्वाचन नभएको खण्डमा संसद बैठक संचालनका लागि ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था अनुसार नुवाकोटबाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुंगानाले ज्येष्ठ सदस्यको रुपमा सभाको बैठक अध्यक्षता गर्नेछन् । उनको जन्म २००६ साल असोज २ गते भएको हो ।
ज्येष्ठ सदस्य ढुंगानालाई प्रदेश प्रमुखले शपथ गराउने छन् । संविधानको धारा १७९ मा प्रदेशसभाका सदस्यहरूले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था रहेको र सोही अनुसार तयारी गरिएको सचिव खड्काले बताए ।
शपथ ग्रहण लगायतका विषयमा छलफलका लागि सचिवालयले पुस ८ गते सर्वदलीय बैठक आह्वान गरेको छ । उक्त बैठकको निर्णय अनुसार ढुंगानाको शपथ ग्रहण गराउने र त्यस लगत्तै पुसको दोस्रो साता अरु सांसदहरुको शपथ ग्रहणको तयारी गरिएको सचिव खड्काले बताए । उनले भने, ‘सबै सांसदको शपथ कार्यक्रम पुसको दोस्रो साता अर्थात् पुस १० र ११ गतेभित्रमा गरिसक्ने हाम्रो तयारी छ ।’
संविधानको धारा १८३ अनुसार प्रदेश प्रमुखले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था अनुसार नै प्रदेश प्रमुखको कार्यालयको समन्वयमा सबै कार्यक्रमको तयारी गरिएको उनको भनाइ छ ।