पुस ७, २०७९ | काठमाडौं
प्रतिनिधि सभामा नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार एक कार्यक्रमबीच ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सांसदहरुलाई शपथ गराउनु भएको हो । नवनिर्वाचित २६ जना सांसदले भने विभिन्न १४ मातृभाषामा शपथ लिभएको संसद् सचिवालयले जनाएको छ ।
नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानून बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधि सभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ ।
ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।
सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुबै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी दुई सय ७५ जना सांसद छन् ।
शपथअघि ज्येष्ठ सदस्य जबराले बोलाउनुभएको बैठकमा संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले शपथ ग्रहणको प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो ।