पुस १०, २०७९
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।दाहालले दोस्रो ठूलो दल नेकपा एमाले सहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।यससँगै तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए ।यसअघि पाँच दलीय गठबन्धन छाडेर एमालेसँग सत्ता साझेदारीका लागि हात बढाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई एमालेले प्रधानमन्त्रीका रूपमा समर्थन गर्ने निर्णय भएको नेताहरूले बताएका थिए। दाहाल यसअघि २०६५ र २०७३ मा ९र९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए ।