अरुण कुमार नेपाली
१० पौष २०७९ आईतबार
दाङ—अन्ततःनेकपा एमाले सहित अन्य साना दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को नेतृत्वमा केन्द्रिय सरकार बनेपछि यसको प्रभाव प्रदेश सरकार निर्माणमा पनि देखिने भएको छ । अब सातवटै प्रदेशमा एमालेको गठबन्धमा रहेका दलहरुले सहजै सरकार बनाउन सक्नेछन् ।प्रदेशमा पनि संघीय सरकारमा तालमेल गरेका दलहरुको नै स्पष्ट बहुमत छ ।
यी सबै प्रदेशमा एमाले गठबन्धनमा रहेका दलहरुको सरकार बनेमा नेपाली कांग्रेस प्रदेशमा समेत सरकार विहिन हुनेछ । यसैबीच एकाएक सत्ता समिकरणको कोर्स फेरीएपछि लुम्बिनी प्रदेशमा पनि सरकार निर्माणको चर्चा चुलिएको छ ।संघीय सरकारमा भएको सत्ता समिकरणले एमाले र माओवादीलाई लुम्बिनी प्रदेशमा सरकार बनाउन कुनै सकस हुने छैन् ।
लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेश सभा छ । जहाँ सरकार गठन गर्न ४४ सांसदको समर्थन चाहिन्छ । यस प्रदेशमा सरकार निर्माणका लागी आवश्यक बहुमत एमाले माओवादी केन्द्र सहितकको गठबन्धनले सहजै जुटाउन सक्छ ।सांसदको अंकगणितलाई हेर्ने हो भने नेकपा एमाले लुम्बिनी प्रदेशमा सबै भन्दा ठुलो हो । एमालेसंग २९ सांसद छन् । त्यस्तै माओबादी केन्द्रबाट ९,जनता समाजवादी पार्टीका ३,राप्रपाका ४,नागरीक उन्मुक्ति पार्टीका ४,जनमत पार्टीका ३ गरी ५२ सांसद एमाले सहितको गठबन्धमा रहेका छन्।
प्रदेशको दोस्रो ठुलो दल नेपाली कांग्रेसका २७ सांसद छन् भने स्वतन्त्रतका ३ सासद छन् । स्वतन्त्रका ३ सांसद बाहेक केन्द्रमा सत्ता समिकरण गरेका दलहरु मिले मात्रै पनि एमाले— माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्नेछ । तर स्वतन्त्रबाट निर्वाचन जितेका ३ सांसदले पनि समर्थन गरेमा उक्त गठबन्धमा ५५ सांसद हुनेछन् ।दोस्रो ठुलो दल नेपाली कांग्रेसलाई भने सरकार बनाउन सहज देखिदैन् ।नेकपा एमाले र माओवादी बाहेक अन्य साना दलले साथ दिएमा कांग्रेसले बहुमत पु¥याउन सक्छ तर त्यो सम्भावना भने टरिसकेको छ ।संघीय सरकार निर्माणमा एमाले— माओवादी केन्द्र सहित अन्य दलको नयाँ समिकरण बनेपछि लुम्बिनी प्रदेशमा पनि कांगे्रस सरकार विहिन हुने अवस्थामा पुगेको हो ।